एक मात्र निर्वाचन क्षेत्र भएका रसुवा, धनकुटा र दार्चुलाको मात्र परिणाम आउन बाँकी
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार रसुवा, धनकुटा र दार्चुलाबाहेकका एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन सम्पन्न भएको हो ।
जगन्नाथ श्रेष्ठ, सचिव निर्वाचन समिति
दुई चरणमा गरी ३२ जिल्लामा निर्वाचन सम्पन्न भएका छन् । ४० वटा निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको र प्रक्रियामा रहेको जानकारी निर्वाचन समितिलाई छ । रसुवा, धनकुटा र दार्चुलाका एक मात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट हुन बाँकी छ ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार पहिलो चरणमा निर्वाचन सम्पन्न भएका १४ हिमाली तथा उच्च पहाडी जिल्ला र दोस्रो चरणमा ६ मंसिरबाट सुरु भएका १८ जिल्ला गरी ३२ जिल्लाको अधिवेशन सम्पन्न भएका हुन् । ‘दुई चरणमा गरी ३२ जिल्लामा निर्वाचन सम्पन्न भएका छन् । रसुवा, धनकुटा र दार्चुलाको निर्वाचन प्रक्रिया जारी छ,’ उनले नयाँ पत्रिकासँग भने ।
कांग्रेस कार्यतालिकाअनुसार एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका ४२ जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशनको मिति तय भएको छ । त्यसपछि एकसाथ १६ र १७ मंसिरमा सातै प्रदेशको अधिवेशन र २४ देखि २६ सम्म केन्द्रीय महाधिवेशनको कार्यतालिका छ ।
एकभन्दा बढी निर्वाचन क्षेत्रमा जारी निर्वाचनअन्तर्गत एक सय २२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट तीन हजारभन्दा बढी प्रतिनिधि चयन भएका छन् । ६ मंसिरबाट सुरु प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनबाट तीन हजारभन्दा बढी प्रतिनिधि छनोट भएका हुन् । निर्वाचन समिति सचिव श्रेष्ठका अनुसार एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय २२ क्षेत्रका निर्वाचन सम्पन्न भएको छ ।
‘४० वटा निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको र प्रक्रियामा रहेको जानकारी निर्वाचन समितिलाई छ,’ सचिव श्रेष्ठले भने, ‘त्यसबाहेक रसुवा, धनकुटा र दार्चुलाका एक मात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट हुन बाँकी छ ।’ यी निर्वाचन क्षेत्रबाट २५ देखि २७ जनासम्म प्रतिनिधि छनोट हुने व्यवस्थाअनुसार तीन हजार बढीको संख्यामा प्रतिनिधि छनोट भएका हुन् ।
कांग्रेको विधानअनुसार यी निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि छनोट भएर आउँछन् । त्यसबाहेक समावेशी क्लस्टरबाट एक या दुईजना प्रतिनिधि थप भएर आउने व्यवस्था छ । भ्रातृसंगठनबाट ६७, शुभेच्छुक संस्थाबाट ६०, विदेशस्थित जनसम्पर्क समितिबाट एक सय ५० र केन्द्रीय सदस्य तथा पदाधिकारीबाट एक सय चारजना प्रतिनिधि सहभागी हुनेछन् ।
अहिलेसम्म कुन पक्षका कति जिल्ला सभापति चुनिए ?
संस्थापन पक्ष
- डडेल्धुरा : भीमबहादुर साउद
- लमजुङ : टकराज गुरुङ
- मनाङ : शंकर गुरुङ
- सल्यान : केशवबहादुर विष्ट
- डोल्पा : दीपेन्द्रबहादुर शाही
- म्याग्दी : खमबहादुर गर्बुजा
- ताप्लेजुङ : गजेन्द्र तुम्याहाङ
- मुगु : ऐनबहादुर शाही
- पाँचथर : रूपनारायण जवेगु
- हुम्ला : मोहनविक्रम सिंह
- बझाङ : खडक बोहरा
- रामेछाप : पूर्णबहादुर तामाङ
- जुम्ला : कर्णबहादुर शाही
- जाजरकोट : वेदराज सिंह
संस्थापनइतर पक्ष
- गोरखा : नन्दप्रसाद न्यौपाने
- प्युठान : विष्णुकुमार गिरी
- अर्घाखाँची : केशव श्रेष्ठ
- मुस्ताङ : रोमी गौचन थकाली
- बैतडी : चतुरबहादुर चन्द
- दोलखा : बर्मा लामा
- कालिकोट : अम्बबहादुर शाही
- संखुवासभा : दीपक खड्का
- रूकुम पूर्व : केशरमान रोका
- भोजपुर : विनोद वान्तवा
- बाजुरा : रामसिंह रावल
- तेह्रथुम : अर्जुन तुम्बाहाङफे
