नेपाल प्रहरीमा भगौडा प्रवृत्ति बढेको छ। पछिल्लो ४ वर्षयता १ हजार ७७ जना बिदामा बसेका प्रहरी कर्मचारी जागिरमा फर्किएनन्। जागिरकै माया मारेर अन्यन्त्रै काममा लागेको पत्तो पाएपछि उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बर्खास्त गरेको छ। यसरी भाग्नेमा सबैभन्दा बढी तल्लो दर्जाका प्रहरी कर्मचारीहरू छन्। घर बिदा, बिरामी बिदा, अध्ययन बिदा, भैपरी आउने बिदालगायत शीर्षकमा बिदा मागेर भागेकामध्ये प्रहरी उपरीक्षक, प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षक पनि छन्।
नेपाल प्रहरीको तथ्यांकअनुसार ०७४/७५ मा २ सय ७२ जना, ०७५/७६ मा २ सय ४९ जना, ०७६/७७ मा ३ सय ९० जना र ०७७/७८ मा १ सय ६६ जना प्रहरी जागिरमा फर्किएका छैनन्। तोकिएको समयमा कार्यालयमा उपस्थिति नभएपछि उनीहरूलाई बर्खास्त गरिएको छ। जागिरमा नफर्किएर प्रहरीको भगौडा सूचीमा परेकाहरूको खोजतलास गरी प्रहरी प्रधान कार्यालयले बर्खास्त गरेको हो। ०७४/७५ मा प्रहरी कार्यालय सहयोगी १७ जना, प्रहरी जवान २ सय १०, प्रहरी हबल्दार २५ जना, प्रहरी सहायक निरीक्षक १२ जना, प्रहरी सहायक निरीक्षक ६ जना र २ जना प्रहरी निरीक्षक राजीनामा नै नदिई बीचमै जागिर छाडेका छन्।
०७५/७६ मा भाग्ने प्रहरी उपरीक्षक १ जना, प्रहरी निरीक्षक २ जना, प्रहरी नायब निरीक्षक ५ जना, प्रहरी सहायक निरीक्षक ११ जना, प्रहरी हवल्दार २४ जना, प्रहरी जवान १९५ जना, प्रहरी कार्यालय सहयोगी ११ जना गरी २ सय ४९ जनालाई जागिरबाट हटाइएको छ।
त्यस्तै, ०७६/७७ मा प्रहरी नायब उपरीक्षक २ जना, प्रहरी निरीक्षक १ जना, प्रहरी नायब निरीक्षक ११ जना, प्रहरी सहायक निरीक्षक २० जना, प्रहरी हबल्दार १९ जना, प्रहरी जवान ३ सय ३२ जना र प्रहरी कार्यालय सहयोगी १५ जना गरी ३ सय ९० जना प्रहरी बिदामा बसेर कार्यालय नफर्किएपछि बर्खास्तमा परेका छन्। ०७७/७८ मा प्रहरी निरीक्षक २ जना, प्रहरी नायब निरीक्षक ४ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार २३ जना, प्रहरी जवान १ सय २६ र प्रहरी कार्यालय सहयोगी ८ जना गरी १ सय ६६ जना बिदा मागेर काममा फर्किएका छैनन्।
प्रहरी नियमावली २०७७ को परिच्छेद–९ आचरणसम्बन्धी नियमअनुसार बिदा स्वीकृति नगराई लगातार पैँचालिस दिनसम्म आफ्नो कार्यालयमा उपस्थिति नभएमा बर्खास्त गर्न सकिने व्यवस्था छ। सोहीअनुसार बिदामा बसेर जागिरमा नफर्कनेहरूलाई बर्खास्त गरिएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार त्यसरी बीचमै जागिर छाडेर भाग्नेलाई विधि प्रक्रियाअनुसार जागिरबाट नै बर्खास्त गरिएको छ। बिदामा बसेको बिदा अवधि कटेपछि खबर गरिएको थियो। व्यक्तिसँग सम्पर्क हुन नसके परिवारमा खोजतलास गरिन्छ। परिवारले चासो नदिए प्रहरी कार्यालयको सूचना पार्टीमा सूचना टाँसिन्छ। यति गर्दा पनि उपस्थिति नभएमा गोरखापत्रमा सूचना प्रकाशन गरी जागिरबाटै बर्खास्त भएको जानकारी गराइन्छ। ‘बिदामा बसेर काममा नफर्किए सम्बन्धित व्यक्तिलाई खबर गर्छौंँ, त्यति गर्दा पनि जागिरमा उपस्थिति नभए अयोग्य ठान्दै बर्खास्त गरिन्छ,’ प्रवक्ता कुँवरले भने, ‘पछिल्लो समय यसरी भाग्नेहरूको संख्या पनि बढिरहेको छ।’
किन छाड्छन् जागिर ?
नेपाल प्रहरीका तल्लो दर्जाका प्रहरीले धमाधम जागिर छाड्ने र भाग्ने क्रम बढेपछि करिब २ वर्षअघि तत्कालीन आइजिपी ठाकुर ज्ञवालीको पालामा त्यसबारे अध्ययन भएको थियो। जसअनुसार अधिकांश प्रहरी थोरै तलबमा पारिवारिक खर्च तथा ऋण धान्न नसक्दा जागिर बीचमै छाड्ने गरेको भेटिएको थियो। उक्त अध्ययनमा ६० प्रतिशत प्रहरी हवल्दार र जवान पारिवारिक ऋणका कारण जागिर छोड्ने गरेको पाइएको छ।
नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार तल्लो तहका प्रहरी थप अवसरको लागि भागेर जान्छन्। प्रक्रियाअनुसार जागिर छाड्दा झन्झट हुने भन्दै उनीहरू खबर नै नगरी भाग्छन्। राम्रो तलब सुविधा नहुने र सुख पनि नहुने भएपछि उनीहरूले जागिर छाड्ने क्रम बढेको उनको बुझाइ छ। ‘१४ घण्टासम्म ड्युटी गर्छन्, जागिर सुरु गर्नुअघिको सोचअनुसार काम गर्न पाउँदैनन्, परिवारलाई समेत दिने समय हुँदैन,’ पूर्वडिआइजी मल्लले भने, ‘त्यसैले उनीहरू बीचमै अर्को बाटोतर्फ मोडिन्छन्, नेपाल प्रहरीमा बीचमै जागिर छाडेर भाग्न सजिलो छ।’ उनले तल्लो तहमा अधिकांश प्रहरीहरू विदेशमा सेक्युरिटी गार्डको लागि गएको र कतिपय दुवै पुलिसमा समेत भर्ती हुने गरेको बताए।
प्रहरी व्यवस्थापनमा चुक्दा सरकारलाई नै घाटा
एउटा सिपाहीले जागिर छाड्दा त्यसको मर्का प्रहरी संगठनमा पर्छ। तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले बीचमै जागिर छाडेर भाग्दा आर्थिक नोक्सानी सरकारलाई पर्छ। सरकारले लगानी गरी तालिम दिएर योग्य बनाई सुरक्षामा खटाएको सुरक्षाकर्मीले बीचमै जागिर छाड्दा त्यसको असर सरकारलाई नै परेको पूर्वडिआइजी मल्लको भनाइ छ। उनका अनुसार तालिम दिएर एउटा हवल्दार तथा सिपाही तहको प्रहरी तयार पार्न करिब ८ लाख रुपैयाँ खर्च हुन्छ। तर महँगो तालिम लिएका प्रहरीले बीचमै जागिर छाडेर भाग्दा सरकारलाई नै घाटा परेको परेको छ। ‘अहिले नेपाल प्रहरीको संगठनभित्रै समस्या छ भन्ने देखिन्छ,’ उनले भने, ‘संगठनभित्रको निराशाले निरुत्साहित भएर जागिर छाड्नेहरू पनि छन्।’