तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन्।

पालिकाले सरकारको निर्णयअनुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भन्दै गरिएको विद्यालय बन्दमा यहाँको गाउँपालिका शिक्षक महासंघले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागिता जनाएको छ। जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकसँगको सहमतिमा पारिश्रमिक बढाएको, तर उक्त गाउँपालिकाले बेवास्ता गरेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलित बनेका गाउँपालिका शिक्षक महासंघका अध्यक्ष गणेश दाहालले जानकारी दिए।

उनका अनुसार संघीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारका तर्फबाट प्रतिव्यक्ति सात हजार रुपैयाँ पारिश्रमिक बढाउनुपर्ने र माग पूरा नहुञ्जेलसम्मका लागि गाउँपालिकामा रहेका ३३ वटै विद्यालय बन्द गर्ने निर्णय गरी तालाबन्दी गरिएको हो।

कोरोना भाइरसका कारण विद्यार्थीको पढाइ पूरा हुन नसकी अन्योल कायमै रहेका वेला पुनः शिक्षकबाट विद्यालय बन्द हुनु दुःखद रहेको र विद्यालय कर्मचारी तथा सहजकर्ताको माग चाँडो सम्बोधन गरी विद्यालय सञ्चालन गर्नुपर्ने नेपाल विद्यार्थी संघका अध्यक्ष गणेश खड्काले बताए। गाउँपालिकाले तलब वृद्धिका विषयमा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन। रासस

सुझावित समाचार