सडकमार्गले नछोएको हुम्लाको पीडा : जहाँ जहाजको टिकट नपाएपछि स्ट्रेचरमै फर्काइन्छन् बिरामी

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

खार्पुनाथ गाउँपालिका– १ प्युस गाउँका ६० वर्षीय वीरजित शाही दम रोगले थलिएको १५ वर्ष भयो । गत शनिबार दमले च्यापेपछि आफन्तले पाँच घन्टा स्ट्रेचरमा बोकेर सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पताल पुर्‍याए । अस्पतालले प्रादेशिक अस्पताल सुर्खेत रिफर गर्‍यो । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म नजोडिएकाले सडकमार्गबाट सुर्खेत पुर्‍याउन सम्भव थिएन ।

सुर्खेत उड्ने जहाजको टिकट नपाएपछि सिमकोट विमानस्थलबाट स्ट्रेचरमा राखेर दमका बिरामीलाई होटेलतिर लगिँदै । तस्बिर : नयाँ पत्रिका

त्यसैले ‘रिफर लेटर’ लिएर केही आफन्त विमानस्थलतर्फ दौडिए । बाँकी बिरामीलाई स्ट्रेचरमा बोकेर विमानस्थलको गेटतिर लागे । तर, कसै गरे पनि दुईवटा टिकट मिलेन । वीरजितकी नातिनी अस्मिताले पीडा थाम्न सकिनन् । रुँदै हजुरबाबा र आफ्ना लागि टिकट मिलाइदिन बिलौना गरिरहिन् । तर, केही लागेन । अन्ततः स्ट्रेचरमा बिरामीलाई बोकेर रुँदै विमानस्थलबाट फर्किए । 

ज्वाइँ खडकबहादुर शाहीले भने, ‘हामी विमानस्थल पुग्दा समिट एयरको विमान आएर उडिसकेको थियो । तारा एयरको विमान थियो । तर, टिकटका लागि भित्र जान खोज्दा प्रहरीले गेटमै रोक्यो । भित्रबाट मात्र टिकट काट्न मिल्ने भएकाले हारगुहार गरेर छिर्‍यौँ । तर, एयरलाइन्सका कर्मचारीले टिकट छैन भने । त्यहाँ पनि हारगुहार गरेपछि बल्ल–बल्ल एउटा टिकट मिलाइदिए । त्यसमा बिरामी मात्र पठाउन सकिने अवस्था भएन । कुरुवाका लागि टिकट नपाएपछि सुर्खेत पुगेर झन् बिचल्लीमा पर्न लागेपछि हामी निराश हुँदै फर्कियौँ ।’ सोमबार उड्न नसकेका उनीहरू मंगलबार टिकट पाइने आशामा सदरमुकामस्थित होटेलमा बसेका छन् । 

हुम्लाका सिडिओ भन्छन्– १२ बिरामी टिकटको पर्खाइमा छन्, प्रहरी लगाएर भए पनि मंगलबार पठाउँछु

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले निजी एयरलाइन्सको मनपरीका कारण सर्वसाधारणले सास्ती व्यहोरिरहेको बताए । उनले १२ जना बिरामी विमानस्थलमा टिकटको आशामा बसेको आफूले जानकारी पाएको भन्दै भोलि (मंगलबार) प्रहरी परिचालन गरेर भए पनि पहिचान खुलाएर टिकट दिलाउने प्रतिक्रिया दिए ।

सोमबारको यो प्रतिनिधि घटना मात्रै हो । हुम्ला विमानस्थलमा दिनहुँजसो यस्ता दृश्य देखिन्छन् । सोमबार दशभन्दा बढी बिरामी जहाजको पर्खामा सदरमुकाममा थिए । उनीहरू सोमबार नपाए पनि मंगलबार टिकट पाइन्छ कि भन्ने आशामा छन् । तिनका आफन्त टिकटका लागि सरकारी अधिकारी र नेतासम्म पहुँचको खोजीमा भौँतारिरहेको देखिन्छ । 

टिकट नपाउँदा बिरामी र तिनका आफन्तले ठूलो आर्थिक भार पनि व्यहोर्नुपर्छ । चंखेली गाउँपालिका– ४ का बिर्ख रोकाय चार दिनदेखि टिकटका लागि धाइरहेका छन् । ‘टिकट नपाउँदा चार दिनदेखि होटेलमै बसेर धाइरहेको छु,’ उनले नयाँ पत्रिकासँग भने, ‘मेरो ५–६ हजार रुपैयाँ खर्च भइसक्यो, टिकटको अझै पत्तो छैन ।’

जताजता मन्त्री उताउतै नेवानि
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको जहाजले वैशाख हुम्लामा उडान भरेको छैन । पर्यटनमन्त्रीको चाहनाअनुसार नेवानिले आफ्ना विमान उडाउने गरेको पाइन्छ । हुम्लाका कांग्रेस नेता जीवनबहादुर शाही पर्यटनमन्त्री हुँदा यहाँ नियमित उडान हुने गरेको थियो । सुदूरपश्चिमका प्रेम आले पर्यटनमन्त्री भएपछि ती विमानले सुदूरपश्चिमका जिल्लामा उडान भर्ने गरेका छन् । यसका केन्द्रीय सदस्य हस्तबहादुर शाही नेतृत्वमा हुम्लाबाट गएको प्रतिनिधिमण्डलले सोमबार मन्त्री आलेलाई भेटेर त्यस्तो माग गरेको हो । मन्त्री आलेले मंगलबारबाटै उडान गराउने प्रतिबद्धता जनाएको शाहीले जानकारी दिए । 

जहाजको टिकट नपाएपछि जसले उपचार अभावमा ज्यान गुमाए

- चंखेली गाउँपालिका– ५ नेप्का गाउँकी ३७ वर्षकी बेल्कु तामाङले २९ चैत ७७ मा उपचारको अभावमा अकालमै ज्यान गुमाइन् । प्रसव वेदना बढ्दै गएपछि जटिल स्वास्थ्य अवस्थाका कारण जिल्ला अस्पतालले रिफर गर्‍यो । सुर्खेत वा नेपालगन्ज लैजान प्लेनको टिकट पाइएन । टिकटका लागि आफन्त हारगुहार गर्दै थिए, प्लेनमा उडाएर सुविधासम्पन्न अस्पताल पुर्‍याउने चाहना पूरा भएन । बरु, बेल्कुले बेथा लागेको तेस्रो दिन बेल्कुको प्राणपखेरु उड्यो । 

- प्रसव वेदनाका वेला उपचार अभावमा मृत्यु नहोस् भनेर हेलिकोप्टरबाट उद्धार गर्न कर्णालीमा राष्ट्रपति महिला उत्थान कार्यक्रम चलाइएको छ । तर, पहुँच नहुँदा राज्यको सो कार्यक्रम उनका लागि लागू नभएकै साबित भयो । 

- बेल्कुकै जस्तो अवस्था दुई वर्षअघि सर्केगाड गाउँपालिका– ४ की १८ वर्षीया अनुरूपा विकले भोगेकी थिइन् । सुविधासम्पन्न अस्पताल पुग्न नसक्दा बेथा लागेर पनि सुत्केरी हुन नसक्दा सातौँ दिनमा उनको ज्यान गयो ।

तर, पहुँचवालालाई सजिलै टिकट
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हो, हुम्ला । ०३४ सालमा हुम्लामा विमानस्थल स्थापना भयो । यातायातको एक मात्रै विकल्प भएकाले स्वाभाविक रूपमा विमानस्थलमा चाप हुने गरेको छ । तर, टिकटै नपाएर सर्वसाधारणले ज्यानै गुमाउनुपर्ने अवस्था आउँदा पहुँचवाला ठूलाठालुले भने सहजै टिकट पाउने गरेका छन् । 

हुम्लामा निजी एयरलाइन्सका सीता, तारा, समिट एयरले उडान भर्दै आएका छन् । ती फ्लाइटमा सर्वसाधारणले टिकट पाउन मुस्किल छ । टिकट बुकिङ गर्न वा काट्न विमानस्थलभित्रै जानुपर्छ । विमानस्थलको गेटबाटै विभेद सुरु हुन्छ । गेटमा बसेका प्रहरीले सर्वसाधारणलाई भित्र पस्न दिँदैनन् । टेलिफोनबाट बुकिङको पनि व्यवस्था छ । तर, पहुँचवाला वा चिनजानको नभई सर्वसाधारणले त्यस्तो बुकिङको सुविधा पाउँदैनन् । फोन उठाउने कर्मचारीले सीधै टिकट छैन भनिदिन्छन् । 

तर, प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, अन्य सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल प्रमुख नेता, एयरलाइन्सका पहुँचवालाहरू र केही पत्रकारको टिकटमा सहज पहुँच छ । उनीहरूका लागि मात्र होइन, उनीहरूले गरेका सिफारिसमा समेत टिकट दिने गरिन्छ । तर, निमुखा सर्वसाधारण पैसा तिरेर पनि वञ्चित छन् । 

एयरलाइन्सका एक कर्मचारी जिल्लाका प्रशासन र सुरक्षा प्रमुख, सांसद र जिल्लाका नेताहरूले टिकटका लागि दबाब र धम्कीसमेत दिने गरेको बताए । ‘आइतबार मात्रै सिडिओको सिफारिसमा तीनजना उडे,’ ती कर्मचारीले भने, ‘सिडिओको सिफारिस आएपछि सर्वसाधारणको नाम काटेर भए पनि टिकट उपलब्ध गराउनुपर्ने बाध्यता छ ।’

See More On

सुझावित समाचार