दसैँका वेला भएका दुर्घटनामा १२४ ले गुमाए ज्यान

गुल्मीमा सोमबार स्कारपियो दुर्घटनामा ६ जनाको मृत्यु

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण

दसैँको १५ दिनको अवधिमा भएका सडक दुर्घटनामा १२४ जनाले ज्यान गुमाएमा छन् । ती दुर्घटनामा दुई हजार ९८८ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।

२५ असोजदेखि ८ कात्तिकसम्म देशभरि एक हजार ३३९ दुर्घटना भएका थिए । जसमा ज्यान गुमाउने १२४ मध्ये ८३ पुरुष र ३९ महिला छन् । त्यस्तै, १२ जना बालबालिकाले पनि ज्यान गुमाएका छन् । ४३७ जना गम्भीर घाइते भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले जानकारी दिए । विगतका वर्षमा भन्दा यसपटक प्रहरीले दुर्घटना न्यूनीकरणमा थप सक्रियता देखाएको र ठुलो संख्यामा कारबाही पनि गरेको उनको भनाइ छ ।

‘चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरूको सुरक्षा तथा सहजताका लागि प्रभावकारी व्यवस्थापन गरेको छ,’ डिआइजी काफ्लेले भने, ‘सवारी छुट्ने स्थानमै चालकहरूको सवारीचालक अनुमतिपत्र चेकजाँच, मादक पदार्थ एवं लागुपदार्थ सेवन चेकजाँच, सिट क्षमताअनुसार यात्रु राखे/नराखेको चेकजाँच,  ट्राफिक कम्युनिकेसन एप्लिकेसको प्रयोग गरी लामो दूरीको सवारीसाधनहरूमा दुई चालक भए/नभएको चेकजाँच गर्ने र प्रत्येक सवारीसाधनहरूको मेकानिकल टेस्ट (चेकजाँच) गर्दै सवारीसाधनलाई सुरक्षति रूपमा गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ ।’

१५ दिनको अवधिमा काठमाडौं उपत्यकामा १७१, कोशी प्रदेशमा ३९७, मधेशमा ८०, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिममा १५० सवारी दुर्घटना भएका छन् । दुर्घटनामा मोटरसाइकल १ हजार ५५२, जिप तथा कार ३३७, टेम्पो २०७, ट्रक तथा ट्याङ्कर ७१, माइक्रोबस ६४, बस ५४, ट्याक्टर ३८, टिपर १५, डोजर तथा एक्स्काभेटर तथा लोडर  १० र अन्य १३३ वटा गरी जम्मा २ हजार ४८१ सवारी साधनहरू दुर्घटनामा परे । सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा र सबैभन्दा कम मधेशमा भएका छन् भने सबै भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । गत वर्षको दसैंको अवधिमा कुल १ हजार ४ सय ९२ वटा सवारी दुर्घटनाका घटनाहरू भएका थिए ।

दसैंको अवधिमा देशभरबाट ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।  जसमध्ये मादक पदार्थ सेवनअन्तर्गत २ हजार ७९४, सिट क्षमताभन्दा बढी १ हजार ८८२, तीव्र गति ७४६, यान्त्रिक परिक्षण कारबाहीतर्फ ८८, छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लापसे ५३ र टिसिए (ट्राफिक कम्युनिकेसन एप्लिकेसन)तर्फ ९गरी ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको हो ।

डिआइजी काफ्ले भन्छन् ‘प्रहरीले कारबाही गर्ने भन्दा पनि यात्रु एवम् चालकहरूको सुरक्षालाई विशेष प्राथमिकतामा राखी दुर्घटना हुन सक्ने स्थानको पहिचान गरेर नियमित तथा आकस्मिक रूपमा चेकजाँच गर्ने गर्छ । सुरक्षित र मर्यादित सडकको प्रयोग एवम् सवारी आगमनलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीले विभिन्न प्रविधिहरूको समेत प्रयोग गरी कार्य गरिरहेको छ ।’ प्रहरीले चाडपर्व बिशेष सुरक्षा योजना कार्यान्वान गरी छठसँम्मै बिशेष कारबाहीलाई जारी राख्ने डिआइजी काफ्लेले बताए । 

गुल्मीमा सोमबार स्कारपियो दुर्घटनामा ६ जनाको मृत्यु
गुल्मीको कालीगण्डकी गाउँपालिका– २, दबौखानीमा सोमबार स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घाइते तीनजनाको उपचार भइरहेको छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कारपियोचालक स्याङ्जाको वालिङ नगरपालिका– २ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ– १० का शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका– १, सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे, कुलानन्द पाण्डे र नीता बगालेको ज्यान गएको छ । 

सप्तकोशीमा बेपत्ता भएका तीनजना अझै फेला परेनन्
उदयपुर/धनकुटाको साँगुरीगढी गाउँपालिका– १०, त्रिवेणीको कोप्चेमा सप्तकोशी नदीमा आइतबार मोटरबोट दुर्घटना हुँदा बेपत्ता भएका तीनजना अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण रन्जितकारका अनुसार बेपत्ताहरूको खोजीका लागि दुर्घटना स्थलदेखि सुनसरीको बराहक्षेत्रसम्म प्रहरी परिचालन गरिएको छ । तर, आइतबार र सोमबार खोजी गर्दा पनि उनीहरू फेला पर्न नसकेको उनको भनाइ छ । ‘सशस्त्र प्रहरीको गोताखोर टोलीसहित खोजी गरिरहेका छौँ । सोमबार दिनभर खोज्दा पनि फेला पार्न सकेनौँ,’ उनले भने ।

बेपत्ता हुनेमा झापाको कन्काई नगरपालिका– ४ की नीता मगरका सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका– १ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई छन् । मंगलबार पनि खोजी कार्यलाई निरन्तरता दिइने उनले बताए । दुर्घटनामा तीनजनाको मृत्यु भएको थियो । 

सुझावित समाचार