नौजनाको हत्या निम्त्याएको गत आइतबारको घटनालाई अस्वीकार गरेर अघि बढ्नुले भाजपाको जस्तोसुकै अपराधसम्बन्धी आरोप खारेज गरेर अगाडि बढ्ने रबैया पुष्टि भएको छ
भारतका लागि राजनीतिक हिंसा कुनै नौलो विषय होइन । यति हुँदाहुँदै पनि यही १७ असोजमा उत्तर प्रदेशको लखिमपुर खेरीमा भएका घटनाले मुलुकलाई स्तब्ध बनाइदिएको छ । गत आइतबार केन्द्रीय मन्त्री अजय मिश्राको तीव्र गतिमा आइरहेका गाडीहरूको लस्करले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले ल्याएको कृषि कानुनविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेका किसानहरूलाई पछाडिबाट धक्का दियो ।
प्रहरी उजुरी (एफआइआर) मा मन्त्री मिश्राका छोरा आशिष मिश्रा ठक्कर दिने गाडीमा सवार रहेको र गोली चलाएको व्यहोरा उल्लेख गरिएको छ । यो हिंसात्मक घटना मन्त्री एवं लखिमपुर खेरी क्षेत्रका सांसद अजय मिश्राले किसानलाई धम्की दिएपछि भएको हो । मिश्राले ‘आफूलाई सुधार नत्र भने हामी सुधार्नेछौँ र तिमीहरूलाई सुधार्न दुई मिनेट मात्रै लाग्नेछ’ भनेर धम्की दिएका थिए । अजय मिश्रा राजनीतिमा आउनुअघि कुख्यात गुन्डा एवं हत्याको आरोप लागेका व्यक्ति हुन् । घटनाको षड्यन्त्र रचेको आरोपमा मिश्राविरुद्ध पनि एफआइआर दर्ज गरिएको छ । यस घटनालाई स्पष्ट पार्ने भिडियोहरू भाइरल भइरहेका छन्, जहाँ अनभिज्ञ किसानमाथि गाडी जोतिएको छ ।
गम्भीर आरोप र अकाट्य भिडियो प्रमाणका बाबजुद पनि भाजपाले हालसम्म कुनै कारबाही गरेको छैन । आशिष मिश्रा अझै निस्फिक्री भएर घुमिरहेका छन्, अर्थात् यो लेख लेखुन्जेलसम्म उनलाई पक्राउ गरिएको छैन । लाखिमपुर खेरी घटनासम्बन्धी याचिकामा सर्वोच्च अदालतले उत्तर प्रदेश सरकारलाई ‘घटनामा संलग्न कतिजनालाई पक्राउ गरिएको छ ?’ भनेर प्रश्न गरेको छ । किसानलाई धम्की दिने आशिष मिश्राका पिता अजय मिश्रा अझै पनि मोदी सरकारका मन्त्री कायमै छन् । मन्त्री पद बर्खास्ती त परको कुरो, आफू र आफ्नो छोरा संलग्न भएको लखिमपुर खेरी घटनाबारे मिश्राले केन्द्रीय गृहमन्त्री अमित शाहलाई ब्रिफिङसमेत गरे । इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार अमित शाहले मिश्रालाई थप मनोबल दिई मन्त्रीको काम जारी राख्न भनेका थिए । रिपोर्टअनुसार घटना अवस्थालाई कसरी नियन्त्रण गर्ने भनेर पनि छलफल भएको छ । त्यति मात्रै होइन, मिश्राले कारागार सम्बन्धित एक सम्मेलनको उद्घाटनसमेत गरेका थिए ।
पहिले–पहिले मन्त्रीसँग जोडिन आउने दुर्घटनामा उनीहरूले नैतिकताका आधारमा राजीनामा दिने गर्थे । सन् १९५६ मा प्रधानमन्त्री जवाहरलाल नेहरूका क्याबिनेट सदस्य रेलवे मन्त्री लालबहादुर शास्त्रीले रेल दुर्घटनामा आफ्नो कुनै व्यक्तिगत संलग्नता नहुँदा पनि दुर्घटनामा भएका मृत्युको जिम्मेवारी लिएर राजीनामा दिएका थिए । पाँच दशकपछाडिको भारतीय राजनीतिमा धेरै परिवर्तन आइसकेको छ । अर्थात्, मन्त्रीकै छोरा घटनामा संलग्न हुँदा र मन्त्री आफैँ घटनाको षड्यन्त्रकर्ता भनेर आरोपित हुँदा पनि मन्त्रीलाई कुनै प्रभाव परेको छैन । विडम्बना ! घटनाको विरोध जनाउने भाजपा सांसद वरुण गान्धी र उनकी आमा मेनका गान्धीलाई पार्टीको राष्ट्रिय कार्यकारिणीबाट बर्खास्त गरेर सजाय दिइएको छ । भाजपाले प्रतिक्रिया नदिनु वा प्रतिक्रियाविहीन हुनु ठूलो रणनीतिक जोखिम हो, अर्थात् अहिलेको अवस्थामा यस घटनाले केही महिनापछि हुने चुनावमा विपक्षीलाई बलियो बनाउन सक्नेछ । भारतको सन्दर्भमा नेता जेल जाँदा राजनीतिक वैधता पाउँछन्, त्यस सन्दर्भमा उत्तर प्रदेश सरकारले विपक्षी नेताहरूलाई थुन्ने काम गरिरहेको छ ।
उसो त लखिमपुर हमलाको मामिलामा भाजपासँग धेरै राजनीतिक विकल्प छैनन् । यद्यपि भाजपाको राजनीति राजनीतिशास्त्री नीलन्जन सरकारका अनुसार चुनावी राजनीति मात्रै होइन, शक्ति प्रदर्शन एवं नियन्त्रणको राजनीति पनि हो । नतिजा भाजपाले आफू कुनै हालतमा कसैले पराजित गर्न नसक्ने आक्रामक रबैया देखाइरहेको छ । यो आक्रमकता गेरुवा पार्टीको प्रमुख अस्त्र हो र यसमा अप्ठ्यारा देखिए भाजपाको अजयपन खस्किनेछ । यस सन्दर्भमा राजनीतिशास्त्री सरकार ३४ वर्ष प्रभुत्व जमाएको भाकपा (माक्र्सवादी) को बंगालमा भएको पतनको उदाहरण दिन्छन् ।
उसो त भाजपाले आपराधिक गतिविधिको आरोपलाई यसअघि पनि अस्वीकार गर्दै आएको छ । उदाहरणका लागि प्रधानमन्त्री मोदीको सन् २०१५ को पहिलो कार्यकालमा केन्द्रीय विदेशमन्त्री र राजस्थानका मुख्यमन्त्रीलाई क्रिकेट अधिकारी ललित मोदीलाई सहयोग गर्न अन्तर्राष्ट्रिय यात्रा कानुन नै बंग्याएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ‘यो सरकार भाजपा नेतृत्वको एनडिएको हो, कांग्रेस नेतृत्वको युपिए सरकार होइन’ भनेर भ्रष्टाचार आरोपितका पक्षमा बोलेका थिए । अधिनायकवादी शैलीका कारण भाजपालाई उत्तर प्रदेशमा बलियो बनाइदिएको छ भने पछिल्ला पाँच वर्षमा योगी आदित्यनाथले आफूलाई शक्तिमान्का रूपमा उभ्याएका छन् ।
शक्तिमान् छवि बलियो बनाउन आदित्यनाथले गैरकानुनी काम, गैरन्यायिक हत्या एवं फरक मत राखेकै कारण कैयौँको गिरफ्तार गराएका छन् । नैतिकताको कसीलाई एकातिर राख्ने हो भने आदित्यनाथ उत्तर प्रदेशमा मात्रै होइन, आफूलाई प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहकै राष्ट्रियस्तरको व्यक्तित्व बनाउन सफल भएका छन् । नौजनाको हत्या निम्त्याएको आइतबारको घटनालाई पनि भाजपाले खारेज गरेर अघि बढ्नु भाजपाको अपराध आरोप खारेज गरेर अगाडि बढ्ने रबैया मात्रै हो । स्क्रल डट इनबाट