पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र बुटवलको सडक अस्तव्यस्त बनेको छ । सडकभरी खाल्डैखाल्डा परेकाले अस्तव्यस्त भएको हो । सडक विस्तारको काम व्यवस्थित नहुँदा बुटवलको मुख्य सडकको यात्रासमेत जोखिमपूर्ण बनेको छ ।
यही सडक भएर जाने पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्र, बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गको धानखोलाखण्डमा पनि खाल्डैखाल्डा परेको छ । चाडपर्वको समयमा लामो दूरीको यात्रा गर्ने यात्रु सास्ती व्यहोर्न बाध्य भएका छन् ।
लुम्बिनी प्रदेशको केन्द्र बुटवलमा दैनिक मुख्यमन्त्रीदेखि मन्त्रीसम्मका सवारीसाधन कुद्छन, तर सडकका खाल्टाका कारण असहज यात्रा गर्दासमेत उनीहरूको ध्यान सडक सुधारमा गएको छैन । स्थानीय सरकार पनि बेखबरजस्तै बनेको छ । सडक अस्तव्यस्त हुँदासमेत आफ्नो कार्यक्षेत्र नपर्ने भन्दै पन्छिने यी दुई तहका सरकारको चर्को आलोचना हुँदै आएको छ ।
संघीय सरकारमातहत रहेको मुख्य सडक मर्मत गर्न डिभिजन सडक कार्यालयले पनि ध्यान दिएको छैन । दसैँ लागिसकेकाले लामो दूरीका सवारीसाधनको चाप बढ्दै गएको छ ।
बुटवलका सडकको दुरावस्थाको कारण अहिले सहज यात्रा गराउने अवस्था नरहेको सरोकारवालाहरू बताउँछन् । वर्षामा हिलाम्मे बन्ने सडक अब धुलाम्मे बन्न थालेका छन् । सडकका खाल्डा छलेर सवारी चलाउन खोज्दा दुर्घटनाको जोखिम पनि बढेको छ । बिरामी तथा अशक्तहरूलाई बुटवलका सडकमा यात्रा गर्न अझै बढी कष्टकर छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्धक रामचन्द्र भुसालले सडकका खाल्डाखुल्डीले सहज यात्रा गर्ने अवस्था नै नरहेको बताए । ‘बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकले नै अन्यत्रका बाटाको संकेत गर्छ, सहरका बाटामा त यस्ता खाल्डा छन् भने अन्यत्र कस्तो होला, सम्बन्धित निकायले समयमै ध्यान दिनु आवश्यक छ,’ उनले भने, ‘चाडपर्वको समयमा दुर्घटना न्यूनीकरण गर्न यात्रुलाई सहज रूपले यात्रा गर्ने वातावरण बनाउन स्थानीय तह तथा सडक कार्यालयहरूले तत्काल सडक मर्मत गर्नुपर्छ ।’