अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति प्रहरी चनाखो हुनुपर्छ : प्रधानमन्त्री देउवा

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ पेसागत जिम्मेवारीमा खटिन अनुरोध गरेका छन्। ६६औँ प्रहरी दिवसको अवसरमा बुधबार नक्सालमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रहरी निष्ठावान र प्रतिबद्ध भएर सुरक्षा तथा अनुसन्धानमा लाग्नुपर्ने बताएका हुन्। प्रधानमन्त्री देउवाले संगठनलाई अझ उचो बनाउन प्रहरी थप जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित रहने अपेक्षा आफूले राखेको बताए। 

उनले नेपाल प्रहरी अपराधको सञ्जाल र अवाञ्छित गतिविधि निस्तेज गर्न दृढसंकल्पसहित लागिपरेको चर्चा गरे। निष्पक्ष अनुसन्धान र कानुन कार्यान्वयन कानुनी राज्यका आधार भएकोले प्रहरीको निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउन र राज्यमा दण्डहीनताको अन्त्य गर्नसमेत मद्दत पुग्ने उनको भनाइ छ। ‘कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘संगठनले थालेका सुधारका रचनात्मक कार्यलाई सफल तुल्याई नेपाल प्रहरीको संस्थागत विकासमार्फत प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रवाह गर्न अनुरोध गर्दछु।’ 

उनले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा संगठित एवं विद्युतीय सञ्जालमा आधारित भएर काम गर्न जरुरी देखिएको बताए। विश्वभर फैलिरहेको अपराधका नयाँ प्रवृत्ति र शैलीहरूप्रति नेपाल प्रहरी ज्यादै चनाखो र प्रभावकारी हुनुपर्ने उनको भनाइ छ। 

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी गतिशील संगठन भएकोले यसको समुचित कार्य विशिष्टीकरण प्रहरीको ध्येय हुनुपर्ने बताए। उनले समाजले प्रहरीबाट धेरै अपेक्षा र विश्वास गरेको बताउँदै प्रहरीको कर्मक्षेत्र पनि समाज र नागरिक नै भएको चर्चा गरे। उनले भने, ‘समाजसँगको सम्बन्ध अनन्त र अटुट छ, यो सम्बन्धलाई प्रगाढ र विश्वसनीय बनाउनु हाम्रो व्यावसायिक धर्म हो ।’
 

सुझावित समाचार