शिक्षामा गरेको लगानीको प्रतिफल अपेक्षाअनुसार आएन : राष्ट्रपति

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक शिक्षा सुधारका लागि सबैको पहल आवश्यक भएको बताएकी छन् । सोमबार राष्ट्रपति कार्यालयमा शिक्षा पत्रकारसँग भएको छलफल कार्यक्रममा उनले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर शिक्षाका कार्यक्रम अघि बढाउनुपर्ने बताएकी हुन् । 

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)मा आबद्ध पत्रकारहरूसँगको छलफलमा राष्ट्रपति भण्डारीले सरकारले शिक्षामा राम्रो लगानी गरे पनि त्यसको प्रतिफल अझै पनि अपेक्षाअनुसार नआएको बताइन् । ‘सरकारले शिक्षामा गरेको लगानी कम होइन, पर्याप्त नहुन सक्छ, तर त्यसको प्रतिफल राम्रो आइसकेको छैन ।’ उनले सार्वजनिक शिक्षा भगवान् भरोसामा चलेको बताइन् । 

शिक्षा पत्रकारहरूले विद्यालय तहदेखि विश्वविद्यालयसम्मको अवस्थाका बारेमा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए । पत्रकारको प्रस्तुतिपछि राष्ट्रपति भण्डारीले सार्वजनिक शिक्षालाई सबैले प्राथमिकता दिनुपर्ने बताइन् । उनले निजी शैक्षिक संस्था पनि ऐन कानुनले गरेको व्यवस्थाअनुसार सञ्चालन भएकाले एकैपटक निषेध गर्न नसकिने धारणा राखिन् । ‘सार्वजनिक शिक्षा सुधार गरे निजी शैक्षिक संस्थाका सटर आफैँ बन्द हुन्छन्,’ भण्डारीले भनिन् । शिक्षा र स्वास्थ्यका क्षेत्रमा सचेत नागरिकको धेरै चासो रहेको उनको भनाइ थियो । 

राष्ट्रपति भण्डारीले विद्यालयदेखि विश्वविद्यालयसम्ममा विकृति र विसंगति रहेको उल्लेख गरिन्् । अहिले पनि धेरै विद्यालयमा एक सय पनि विद्यार्थी नरहेको उनको भनाइ थियो । पहिले धेरै विद्यार्थी संख्या भएका क्याम्पससमेत विद्यार्थी कम र पूर्वाधारसमेत खण्डहर बनेको दुखद स्थिति देख्नुपरेको उनको गुनासो थियो । ‘कतै विद्यार्थीभन्दा शिक्षक बढी भएको पनि पाइन्छ,’ भण्डारीले भनिन् ।

सार्वजनिक शिक्षाको सुधारका लागि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उनको भनाइ थियो । विदेशमा उच्च शिक्षा हासिल गर्न बर्सेनि विद्यार्थी र रकम बिदेसिएको, तर ती विद्यार्थीको नागरिक हक भएकाले उनीहरूलाई विदेश जानबाट रोक्न नमिल्ने बताइन् । नेपालमा पनि विदेशमा प्राप्त हुने शिक्षाको स्तरकै शिक्षा दिन सकेमा विदेश जानबाट रोकिने उनको भनाइ थियो । उज्वल भविष्यको खोजीमा बर्सेनि नेपालबाट विद्यार्थी र रकम बाहिरिने गरेको छ । 

सुझावित समाचार