नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन्। मन्त्रिपरिषद् विस्तारको विषयमा सभापति शेरबहादुर देउवाले इतर पक्षलाई बेवास्ता गर्दा संस्थापनइतर समूहको तर्फबाट मन्त्रीको नाम पठाउन नसकिएको बताएका हुन्।
नयाँ पत्रिकासँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले हालसम्मको मन्त्रिपरिषद् विस्तारमा इतर पक्षसँग कुनै छलफल नगरेको बताए। ‘अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्दा हामीसँग छलफल भएको छैन। आफूखुसी गरिएको छ,’ उनले भने।
त्यस्तै, सरकारमा कतिजना मन्त्री समावेश गर्ने भन्ने विषयसमेत स्पष्ट नपार्दा इतर समूहबाट मन्त्रीको नाम पठाउन नसकिएको बताए। ‘सरकारमा कति मन्त्री पठाउने हो, के गर्ने हो ? भन्दा प्रधानमन्त्रीले अरू पार्टीको कुरा टुंगियोस् अनि कुरा गर्ने भन्नुहुन्छ। यति जना नभनी हामीले कसरी नाम दिने ?’ पौडेलले असन्तुष्टि जनाए।
पौडेल समूहले कांग्रेसले पाउने सातमध्ये तीन मन्त्रालय आफूहरूले पाउनुपर्ने माग राख्दै आएको छ। तर, प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइरालासँग एक–एकजनाको नाम माग गरेका छन्। बुधबार इतर पक्षको बैठकमा नेतृ सुजाता कोइरालाले माग भएका नाम चाँडो चयन गर्नुपर्ने धारणा राखेकी थिइन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेल पक्षले दाबी गर्दै आएको परराष्ट्र मन्त्रालयमा छलफल नगरी डा. नारायण खड्कालाई मन्त्री बनाएपछि यो समूह थप असन्तुष्ट बनेको छ।