भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालले चार महिनाभित्र पैसा तिर्ने कागज गरेपछि युवतीको शव परिवारलाई दिएको छ । मंगलबार साँझ मृतक परिवारले चार लाख १९ हजार रुपैयाँ तिर्ने कागजी सम्झौता गरेपछि मात्र अस्पतालले शव दिएको हो ।
उपचारकै क्रममा सोमबार बिहान करिब ३ बजे मृत्यु भएकी गोरखा नगरगाउँपालिका–७ की २१ वर्षीया भक्तिमाया खत्री (रश्मि)को उपचार खर्च नदिएको भन्दै अस्पतालले परिवारलाई शव दिएको थिएन । अहिलेसम्म विभिन्न अस्पतालमा गरेर खत्रीको उपचारमा नौ लाख रुपैयाँ खर्च भएको परिवारको अनुमान छ । यसअघि मेडिकल कलेजको फार्मेसी र अस्पतालमा गरेर परिवारले तीन लाख ८० हजार रुपैयाँ बुझाएको थियो ।
मृतककी आमा बुद्धिमाया खत्रीले छोरीको उपचारका लागि भनेर कानको मुद्रा र घाँटीको सिक्री पनि बिक्री गरेकी थिइन् । ‘पहाडको ठाउँमा ११ हातको जग्गा छ । भन्नेबित्तिकै बिक्री पनि हुँदैन । कानको सुन र घाँटीको सिक्री बेचेर साढे तीन लाख रुपैयाँ अस्पतालमा बुझाएँ । छोरी बचाउन नसकेको अस्पतालले शव दिएन गाह्रो मान्यो,’ उनले भनिन् ।
असार अन्तिम साता टाउको दुख्ने, रिंगाटा लाग्ने र बान्ता हुने समस्या भएपछि रश्मिलाई गाउँकै सामान्य मेडिकल कलेजमा लगिएको थियो । दुई–तीन दिन औषधि सेवन गर्दा पनि उनलाई निको भएन । त्यसपछि साउन पहिलो साता आफन्तको सहयोगमा उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगियो । घाँटी र टाउकोमा समस्या भएको भन्दै अस्पतालले केही औषधिसहित उनलाई घरमै आराम गर्न भनेर पठायो । त्यसको केही दिनमा थप चेकजाँच गर्न उनलाई भरतपुरको नारायणी सामुदायिक अस्पतालमा ल्याइयो ।
सिटिस्क्यान गरेर अस्पतालले उनलाई सबै ठिक रहेको बतायो । यद्यपि खत्रीको स्वास्थ्यमा भने सुधार भएन । ‘चिकित्सकले रोग पत्ता नलगाएपछि परिवारले धामी, झाँक्री र झारपुकमा लग्यो,’ मृतककी दिदी निशाना खत्री श्रेष्ठले भनिन्, ‘बहिनीलाई धेरै गाह्रो भएपछि भरतपुर अस्पताल ल्यायौँ । अस्पतालले उनको अवस्था जटिल भएको र आइसियू नभएको भन्दै अर्को अस्पताल लैजान भन्यो ।’
१९ साउनदेखि रश्मिको उपचार कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा भएको थियो । लामो समयसम्म उपचार हुँदा पनि चिकित्सकले रोग नै पत्ता नलगाई उनको २१ भदौ बिहान मृत्यु भयो । आमा बुद्धिमायाले चिकित्सकले टिबी, निमोनिया, छारे रोग भन्दै विभिन्न औषधि खुवाएको बताइन् । ‘उपचारका लागि ल्याएको मेरो छोरीको अस्पतालले राम्रोसँग उपचार पनि गरेन । अस्पतालले हेरचाह नगर्दा उनको शरीरमा थप समस्या आयो,’ बुद्धिमायाले भनिन्, ‘आइसियूमा मेरो छोरीको बेडमा कमिला हिँड्थ्यो, पैसा तिर्न सक्दैन भनेर हो कि धेरैपटक अस्पताल प्रशासनमा भन्दा पनि कसैले सुनेन ।’ यस विषयमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपाने सम्पर्कमा आउन चाहेनन् ।
छोरोका मृत्युको पीडा त छँदै छ बुद्धिमायालाई अब कागज गरेको पैसा कसरी समयभित्रै तिर्ने भन्ने चिन्ता पनि छ । रश्मिलाई बचाउन भन्दै गाउँलेले समेत चन्दा उठाएर पठाएका थिए । खत्रीको परिवार दैनिक ज्याला–मजदुरी गरेर जीवन गुजारा चलाउँछ ।
चितवनका अस्पतालले बिरामी बन्धक बनाएका दुई घटना
१. दुर्घटनामा परेका कृष्ण चन्दा उठाएर मुक्त भए
मकवानपुर कैलाश गाउँपालिका–७ कोथलीटारका कृष्णबहादुर चेपाङ (२५) कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा नै एक साता बन्धक बने । २३ असारमा घरछेउमै ना.१४प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि आफन्तले उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पुर्याएका थिए । उपचारका क्रममा सात लाख ३८ हजार रुपैयाँ खर्च लाग्यो ।
निको भइसकेपछि पनि कृष्णको परिवारले बाँकी रकम जुटाउन सकेन । रकम नबुझाई अस्पतालले मुक्त गरेन । त्यसपछि आफन्तले चन्दा संकलन गर्न थाले । संविधानसभाका सदस्य गोविन्दराम चेपाङ र दाइ नाता पर्ने विनोद चेपाङको सक्रियतामा केही रकम संकलन भयो । कसै गरे पनि सबै रकम जुटाउन नसकेपछि अस्पतालले ९५ हजार छुट दियो । र, कृष्णबहादुर अस्पतालबाट मुक्त भए ।
२. पैसा तिर्न नसकेपछि अस्पतालबाटै भागे राजु
मकवानपुर भीमफेदीका राजु थिङ (३४) २९ भदौ ०७७ मा अचानक बेहोस भए । चितवन मेडिकल कलेज (सिएमसी)मा उपचार सुरु भयो । १० दिनपछि उनको होस खुल्यो । चिकित्सकका अनुसार उनलाई समयमा निमोनियाको उपचार नहुँदा ‘सेप्टिक सक’ भएको थियो । राजुको होस त आयो, तर अस्पतालको उपचार खर्चले परिवारको होस उड्न थाल्यो । राजु ठिक भए । चिकित्सकले घर जान सल्लाह दिए । तर, अस्पताल प्रशासनले सबै रकम भुक्तान नहुँदासम्म जान दिएन । उपचार खर्च जुटाउन परिवारले दसैँका लागि राखिएका चारवटा खसी बेच्यो ।
आफन्तसँग सरसापट माग्यो । पटक–पटक प्रशासन र जनप्रतिनिधिसँग गुहार लगायो, तर कसैले वास्ता गरेनन् । उनको परिवारले दुई लाख रुपैयाँ अस्पतालमा बुझाइसकेको थियो । अस्पताललाई थप तीन लाख र फार्मेसीलाई करिब एक लाख ५० हजार तिर्न बाँकी थियो । २३ असोजमा साधारण वार्डमा सारे पनि अस्पतालले घर जान दिएन । कसै गरे पनि सो रकम जोहो गर्न नसकेपछि उनी अस्पतालमै बन्धक बनिरहे भने बन्धक छोरो छुटाउन राजुका बाबुले गाउँगाउँ डुलेर पैसा उठाउन थाले । तर, कोरोना महामारीको समय भएकाले अधिकांशले छेउ पर्नै दिँदैनथे । अन्ततः केही सीप नलागेपछि राजु अस्पतालबाटै भागे ।