एमाले अध्यक्ष ओलीको जिल्लामा विभाजनको असर न्यून, सात जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा पार्टी विभाजनको असर न्यून देखिएको छ।  निर्वाचन आयोगले एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि पार्टी रोज्न दिएको मंगलबारसम्मको समयमा झापामा सातजना मात्र जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजेका हुन्।  

नेकपा (एस) को पक्षमा लागेकामध्ये एकजना मात्र वडाध्यक्ष छन्।  बाँकी वडासदस्य र एकजना जिल्ला समन्वय समिति सदस्य रहेको निर्वाचन कार्यालयले जनाएको छ।  एमालेमा हुँदा नेपाल समूहमा लागेका नगर प्रमुख तथा उपप्रमुखले पनि विभाजनपछि नेपालको साथ छाडेका हुन्।  

नेकपा (एस) का पक्षमा शिवसताक्षी– ७ का वडाध्यक्ष नवीन इजम, जिल्ला समन्वय समिति सदस्य पदम लिम्बू, झापा गाउँपालिका– ७ की वडासदस्य ईश्वरी दाहाल, मेचीनगर नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा–६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा– ३ का वडासदस्य होम दुलाल र भद्रपुर– ९ का वडासदस्य कुञ्जा रुचालले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन्।  

झापामा नेपाल नेतृत्वको पार्टी निकै कमजोर देखिएको छ।  जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित एमाले अध्यक्ष ओलीसहित तीनजना सांसद नै एमालेमा छन्।  विगतमा माधव समूहमा रहेकी झापा क्षेत्र नम्बर २ की सांसद पवित्रा निरौला खरेलले समेत नेपालको साथ छाडेकी छिन्।  यस्तै, प्रदेश सभामा निर्वाचित आठजना नै एमालेमा छन्।   
 

सुझावित समाचार