सभामुखमाथि खनिए ओली - ‘हेर्नुस् त टुप्पा–टुप्पामा कस्ता मान्छे !’

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

एमाले विभाजनमा षड्यन्त्रमूलक भूमिका खेलेको भन्दै विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । ओलीले सभामुखको भूमिकालाई लिएर सदनमा विरोध र प्रश्न उठाउने तयारी गरेको पनि बताएका छन् । बुधबार संसद् अधिवेशन सुरु हुँदै छ । 

‘पर्सि (बुधबार) संसद् सुरु हुँदै छ, हामीले सभामुखलाई सोध्नैपर्ने हुन्छ, सभामुख हो कि पार्टीको कार्यकर्ता ?, गठबन्धनको मतियार हो कि एमालेविरुद्धको साँठगाँठकर्ता, जालीझेली काम गर्ने एउटा मोहरा हो कि के हो ?’ सोमबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘प्रमुख प्रतिपक्ष पार्टी फुटाउन सामेल हुने, षड्यन्त्रको हिस्सेदार भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह गर्न सकिँदैन । अग्निप्रसाद सापकोटा, सभामुख हो कि गठबन्धनको प्यादा हो ? एमालेका विरुद्ध षड्यन्त्र गर्ने अखडा हो त्यो, त्यस विषयमा हामीले सोध्नैपर्ने हुन्छ ।’

प्रमुख प्रतिपक्षमाथि राजनीतिक रूपमा लाञ्छना लगाउने मान्छे सभामुखमा विराजमान भइरहने कुरा देशकै लागि दुर्भाग्य भएको ओलीको भनाइ थियो । ‘संसद् सुरु हुन्छ, सभामुखको आसनबाट संसद् पुनर्स्थापना अधिनायकवादको पराजय हो भन्छ । त्यसप्रकारको भाषा बोलिन्छ । प्रमुख प्रतिपक्षविरुद्ध आक्रमण र हमला गरिन्छ । सभाममुखको कुर्चीबाट लाञ्छना लगाइन्छ,’ ओलीले भने, ‘कुनै मूल्य–मान्यता थाहा छैन । त्यस्तो मान्छे सभामुखको कुर्सीमाथि विराजमान छ । कस्तो दुर्भाग्य यो देशको । लडेर बलिदान दिएर यत्रो सिस्टम ल्याइयो, हेर्नुस् त टुप्पा–टुप्पामा कस्ता मान्छे !’ ओलीले भने ।

कार्यक्रममा सरकार र सभामुखको कामकारबाहीबारे आक्रामक रूपमा प्रस्तुत भएका ओलीले राष्ट्रियताका सवालमा प्रधानमन्त्री शेरबहादुर देउवाले आत्मसमर्पणको नीति लिएको दाबी गर्दै आलोचना पनि गरे । ‘तुइनबाट मान्छे खसालिन्छ, तपाईंहरू बोल्नुहुन्न, नेपाल सरकारले यसरी झारिएर मारिए भन्ने जानकारी किन दिन सकेन ? नागरिक मारिँदा पनि चुइँक्क बोल्न सक्दैन । यस्तालाई भन्छन्– घरका बाघ, वनका स्याल,’ ओलीले भने, ‘राष्ट्रियताका लागि बोल्ने युवालाई यातना दिइन्छ । तर, आफ्ना नागरिकमाथि ज्यादती हुँदा चुइँक्क बोल्न सक्दैन । एउटा पार्टी मात्रै भए हुन्थ्यो, पाँच पार्टी हुँदा पनि चुइँक्क बोल्न सक्दैनन् ।’

ओलीले एमसिसी प्रकरणमा बोल्ने, लेख्नेलाई सरकारले विज्ञप्ति जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउन खोजेको आरोप पनि लगाए । उनले आफ्नो कार्यकालमा बोल्न नपाएको भन्दै आन्दोलनको मञ्चमा सम्बोधन गरेकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीमाथि कटाक्षसमेत गरे । ‘जो मन्त्री हुनलाई खुट्टो उचालेर ठिक्क परेका छन्, तिनै मान्छे हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, आफैँले टाँसेको टेप (सरकारले टाँसिदिएको थिएन) फिल्मी स्टाइलमा फुकालेर बोल्न पाइन्छ भन्थे,’ ओलीले भने, ‘अहिले सोध्न चाहन्छु, तिनीहरू र तिनका सरकारलाई– बोल्न पाइन्छ कि पाइँदैन नेपालमा ? देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन । राष्ट्रियताका बारेमा बोल्न पाइन्छ कि पाइँदैन ?’

ओलीले देउवा नेतृत्वको पाँचदलीय गठबन्धनको सरकार केही दिनको पाहुना मात्रै भएको र चुनावपछि खोजेर पनि नभेटिने दाबी गरे । ‘यो सरकार अलिक दिनको मेजमान हो, अलिक दिनको पाहुना । बलजफ्ती आएको पाहुना, थोपरिएको पाहुना, षड्यन्त्रबाट जन्मिएको पाहुना, अवैध सम्बन्धको पाहुना । यसलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्छ, तर छिट्टै बिदा गर्न सकिँदैन भने पनि हतारिनुपर्ने केही छैन,’ ओलीले भने, ‘७९ सालको मंसिरसम्म चुनाव गर्नैपर्छ । अब १४ महिना रह्यो । १५ महिनामा त यो सरकार खोजेर पनि भेटिँदैन । किनभने तपाईंहरू उठ्नुभएको छ । तपाईंहरू सुत्नुभयो भने त यस्ता सरकार बनिरहन्छ ।’

ओलीले अहिलेको पाँचदलीय गठबन्धनको आयु लामो समय नरहने भन्दै अफ्रिकाको लिलिपुट मानव जातिसँग तुलना पनि गरे । ‘यी पाँच भैया छन् नि, उनीहरूले अहिले भनिरहेका छन्, नेकपा एमाले एक्लियो, हामी पाँच–पाँचजना छौँ । एक–एक फुटको पाँचवटा जोड्दा पाँच फिट हुन्छ । एउटा मान्छे एक्लै ६ फिटको छ भने को अग्लो हुन्छ ?’ ओलीले लिलिपुटसँग तुलना गर्दै भने, ‘अफ्रिकातिर एउटा लिलिपुट भन्ने जाति हुन्छ । उनीहरूको प्रजनन उमेर सात–आठ वर्षमै, १५ वर्षमा त उनीहरू बुढापाका भइसक्छन्, बढी बाँचे २० वर्ष । अझ २५ वर्ष बाँचे त उधुमै । यी सबै लिलिपुट थिए, लिलिपुटहरूको संगतबाट कांग्रेस पनि लिलिपुट भयो, एमाले कत्तिको एक्लिँदै छ, देख्नुभयो होला नि, युवाहरूको जोस, आज एक ठाउँ होइन, देशभर एमाले प्रवेशको लहर चलिरहेको छ, चुनाव जति नजिकिन्छ, प्रवेशको लहर झन् चल्दै जान्छ ।’ 

See More On

सुझावित समाचार