नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका युवा नेता गगन थापाले आफ्नो मत सबै सँगै उभिनुपर्छ भन्ने रहेको बताएका छन्। कांग्रेसको संस्थापनइतर पक्षले बिहीबार साझा उम्मेदवार तय गर्न प्रतिबद्धता जनाउन आयोजित कार्यक्रममा सहभागी भएका थापाले नयाँ पत्रिकासँग कुरा गर्दै १३औँ महाधिवेशन सकिएको केही समयदेखि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्राय: पार्टीभित्रका मुद्दामा सँगसँगै बसेर काम गरिराखेकाले नजिक्याएको बताए। बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी संस्थापनइतर पक्षले आफूहरू एकै ठाउँमा रहेको सन्देश दिएको थियो। कांग्रेसको तेस्रो धारको रूपमा रहेको कृष्ण सिटौला समूहमा रहेका थापाले १४ भदौमा आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका थिए।
यस्तो छ थापको भनाइ
१३औँ महाधिवेशन सकिएको केही समयदेखि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्राय: पार्टीभित्रका तमाम मुद्दामा सँगसँगै बसेर काम गरिराख्नुभएको छ। त्यही कारणले हामीलाई पनि नजिक्याएको छ। र, अहिले दुवैतिरका साथीहरूको प्रयास र प्रयत्न उहाँहरूलाई यो अधिवेशनमा पनि सँगै उभ्याउनुपर्छ भन्ने छ। मैले त आजको कुरालाई पनि त्यसरी नै लिन्छु। आज जो सभापतिका चारजना आकांक्षी सँगै हुनुहुन्थ्यो त्यहाँ कृष्णप्रसाद सिटौलाको पनि सहभागिता हुनुपर्छ। कृष्णप्रसाद सिटौलासमेतको सहभागितामा छलफल गरेर सभापतिको एउटा उम्मेदवारको टुंगाे लगाउनुपर्छ भन्ने मेरो धारणा छ।
आजको कार्यक्रममा जाँदा सल्लाह त मैले त्यसरी गरेको छैन। तर, योभन्दा अघि पनि म दर्जनौँ बैठकहरूमा सहभागी भएको छु नि। अधिवेशनकेन्द्रित बैठकहरूमा गएर पनि मैले यही मत राख्दै आएको छु। हामीले कसैले कसैलाई यो यहाँ आयो त्यो त्यहाँ गयो भनेर मात्र हुँदैन। मुख्य नेता भनेको सिटौलाजी नै हो। त्यसैले उहाँलाई अन्तिमसम्म सँगै राख्ने प्रयत्न गर्नुपर्छ र प्रयत्नले परिणाम पनि दिन्छ भन्दै आएको छु। आज पनि मैले नेताहरूलाई त्यही नै भनेको छु।
सिटौलाजीसँग दूरी बढेको भन्ने होइन। अस्ति भर्खर मात्रै पनि हामी सँगै बसेका छौँ । छलफलहरू भइरहेका छन्।