तेस्रो धारका नेता र कार्यकर्ताहरूलाई अब दास बन्नुको विकल्प छैन ः खिमलाल देवकोटा

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका नेता खिमलाल देवकोटाले एमालेभित्रका तेस्रो धारका नेता र कार्यकर्तालाई अब दास बन्नुको विकल्प नभएको बताएका छन् । एमालेले प्रतिनिधिसभा पुनर्स्थापनालाई दुर्भाग्य भन्दै  देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेसँगै देवकोटाले यस्तो बताएका हुन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत देवकोटाले अब प्रतिनिधिसभा पुनर्स्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलब्धि ठान्नेका बीचको मिलनबिन्दु कसरी र कहाँनेर हुन्छ ?  विपरीत ध्रुवका यी दुई धार सँगसँगै जान सक्लान् ? भनेर प्रश्न गरेका छन् । 

उनले लेखेका छन्, ‘नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनालाई दुर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका तेस्रो धारका नेताले प्रतिनिधिसभा पुनर्स्थापनालाई महान् र ऐतिहासिक भनेका छन् । प्रतिनिधिसभा विघटन जालसाँझ र अपराध थियो भन्ने धारणासमेत उनीहरूको थियो र छ ।  अब प्रतिनिधिसभा पुनर्स्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेका बीचको मिलनबिन्दु कसरी र कहाँनेर हुन्छ ? विपरीत ध्रुवका यी दुई धार सँगसँगै जान सक्लान्  ? निश्चित छ– सक्दैनन् । ऐतिहासिक उपलब्धि ठान्नेले ऐतिहासिक भूल भयो भन्नैपर्दछ । असहमतिका अरू पनि प्रशस्तै मुद्दाहरू छन् । पहिला विचारमा सहमति र एकरूपता नभएसम्म भागबन्डामा रमाउनु र मिलाउनुको कुनै अर्थ छैन । घनश्याम भुसालका विचारका सारका आधारमा नै भन्ने हो भने तेस्रो धारका नेता र कार्यकर्ताहरूलाई अब दास बन्नुको विकल्प छैन । म देख्दिनँ ।  सामूहिक नेतृत्व प्रणालीबाट एकल नेतृत्वजस्तो संविधानको भावनाविपरीतको निरंकुशतातर्फ उन्मुख हुने निर्णयले नै सन्देश दिइसकेको छ । अब तिमीहरू सबै मेरैवरिपरि घुम्ने हो । पूजापाठ गर्ने हो । राममन्दिर बनाउने हो ।’

सुझावित समाचार