एमाले विभाजनको असर बागमती प्रदेश र प्रदेश १ मा स्पष्ट देखिएको छ । नेपाल पक्षले दलको मान्यता प्राप्त गर्दा दुवै प्रदेशमा रहेका एमाले नेतृत्वको सरकारले बहुमत गुमाउने देखिन्छ । दुवै प्रदेशमा एमालेको एकल बहुमतीय सरकार छ । तर, विभाजित अवस्थामा थोरै सांसद नेपाल नेतृत्वको पार्टीमा लाग्दा पनि एमालेले बहुमत गुमाउनेछ ।
बागमती : बहुमत गुम्न नदिन मुख्यमन्त्री फेरबदल तर, नियुक्तिकै दिन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा
आफू नेतृत्वको प्रदेश सरकार संकटमा पर्ने देखेपछि एमाले नेतृत्वले सरकार जोगाउन मुख्यमन्त्री फेरबदल गर्ने रणनीति लिएको छ । बुधबारै बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएका छन् । एमाले अध्यक्ष केपी ओलीनिकट डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको हो । बुधबार मध्याह्न दलका नेतामा सर्वसम्मत चयन भएकी शाक्यले साँझ मुख्यमन्त्रीको शपथ लिइन् । ओलीको कट्टर आलोचना गर्ने शाक्यले मुख्यमन्त्री पाउने भएपछि अन्तिम समयमा नेपाललाई छाडेकी हुन् ।
बागमती प्रदेशको अंकगणित
एक सय नौ सदस्यीय बागमती प्रदेशमा बहुमत जुटाउन ५५ सांसद आवश्यक पर्छ । यहाँ एमालेका ५६, माओवादी केन्द्रका २३, कांग्रेसका २२ सांसद छन् । मजदुर किसान पार्टी र विवेकशील साझाका तीन–तीन, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् ।
विभाजनअघि एमालेमा ५६ मध्ये ओली पक्षमा ३४ र नेपाल पक्षमा २२ सांसद थिए । दुई सांसद मात्रै पनि नेपालतिर लाग्दा एमालेले एकल बहुमत सहजै गुमाउँछ । त्यसैले प्रदेश सरकारको नेतृत्व नगुमाउन एमाले शीर्ष नेतृत्वले यहाँ बुधबार मुख्यमन्त्री नै फेरबदल गरेका छन् । डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको छ ।
मंगलबारै कार्यभार सम्हालेकी शाक्यले एक महिनाभित्र सभामा विश्वासको मत लिनुपर्छ । त्यसक्रममा नेपाल पक्षका दुई सांसदले मात्रै पनि उनलाई मत नदिए उनी स्वतः पदमुक्त हुनेछिन् । त्यसो त मुख्यमन्त्री शपथ लिएकै दिन उनी अल्पमतमा देखिएकी छिन् । एमालेका दुई सांसद राजेन्द्र पाण्डे र मुनु सिग्देल नेपाल नेतृत्वको पार्टीमा केन्द्रीय सदस्य बनेका छन् । यी दुई मात्र नेपालतिर लागे भने पनि एमालेसँग ५३ सांसद मात्र रहन्छन् ।
एमालेको बहुमत गुम्दा विपक्षी दलहरूलाई सरकार बनाउन नेपाल समूहकै समर्थन आवश्यक पर्छ । माओवादी र कांग्रेसका ४५ सांसद छन् । बाँकी सबै साना दल जोड्दा पनि सरकार बनाउन एक सांसद कम हुन्छ । नेपालसँग कम्तीमा दश सांसद रहेको अवस्थामा भने माओवादी–कांग्रेस र नेपालको गठबन्धनले सहजै सरकार बनाउन सक्छ।
प्रदेश १ : शेरधन राईको ठाउँमा भीम आचार्य ल्याउने सम्भावना

एमालेका आठ सांसद नेपाल पक्षमा लागे सरकार अल्पमतमा
प्रदेश सभामा एमालेसँग स्पष्ट बहुमत छ । तर, एमालेका कम्तीमा आठ सांसद नेपाल नेतृत्वको पार्टीमा जाँदा भने शेरधन राईले बहुमत गुमाउनेछन् । त्यसैले भीम आचार्यलाई मुख्यमन्त्री बनाएर बहुमत कायमै राख्ने प्रयासमा एमाले शीर्ष नेतृत्व देखिएको छ ।
आचार्य मंगलबार निर्वाचन आयोगमा दर्ता गरिएको नयाँ दलतिर लागेका पनि छैनन् । पछिल्ला केही महिनादखि उनी एमालेको एकता जोगाउन क्रियाशील देखिएका थिए । नेपालका अत्यन्त विश्वासिला उनले पछिल्लो समय कुनै हालतमा अर्को पार्टी गठन नगर्न दबाब दिँदै आएका थिए ।
तत्कालीन नेकपाभित्र ओली–प्रचण्ड–नेपालबीच संघर्ष हुँदा उनी प्रचण्ड–नेपाल पक्षमा खुलेर लागेका थिए । ओली पक्षका मुख्यमन्त्री राईविरुद्ध उनकै नेतृत्वमा अविश्वासको प्रस्ताव दर्तासमेत भएको थियो । सर्वोच्च अदालतको आदेशले नेकपा एमाले अस्तित्वमा आएपछि अविश्वासको प्रस्ताव फिर्ता भएको थियो ।
प्रदेश १ को अंकगणित
प्रदेश १ मा सभामुख र उपसभामुखसहित ९३ सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । विभाजनअघिको अवस्थामा एमाले एक्लैसँग ५२ सांसद रहेकाले अहिले उसले एकल बहुमतको सरकारको नेतृत्व गरिरहेको छ । तर, एमाले विभाजित भइसकेको अवस्थामा यो बहुमत स्वतः गुम्ने देखिन्छ । किनभने, कम्तीमा १८ सांसद माधवकुमार नेपालतिर देखिएका छन् ।
प्रदेश सभामा कांग्रेससँग २१, माओवादीसँग १५, जनता समाजवादीसँग तीन तथा राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक–एक सांसद छन् । कांग्रेस, माओवादी र समाजवादी जोड्दा ३९ सांसद हुन्छन् । यस्तोमा बहुमतका लागि जम्मा आठ सांसद अभाव हुन्छ । नेकपा एमालेबाट ८ सांसद मात्रै पनि नेपाल पक्षमा आउँदा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउँछ ।
एमाले एक हुँदा प्रदेश १ मा नेपाल पक्षका सांसद
भीम आचार्य, राजेन्द्र राई, जीवन घिमिरे, सावित्रीकुमारी रेग्मी, यशोदा तिम्सिना, लीलाबल्लभ अधिकारी, उपेन्द्र घिमिरे, सावित्री जोशी, लक्ष्मण तिवारी, सरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काङबाङ, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सुहाङ, कृष्णकुमारी राई, खिनुलंग्ङवा लिम्बू, सभामुख प्रदीपकुमार भण्डारी ।
संस्थापनतर्फका सांसद
शेरधन राई, हिक्मतकुमार कार्की, उषाकला राई, जसमाया गजमेर, रामकुमार राना, कला घले, जगदीश कुसियत, राजकुमार ओझा, अम्बिरबाबु गुरुङ, बुद्धिकुमार राजभण्डारी, उत्तम बस्नेत, ज्ञानेश्वर राजवंशी, तुलसी न्यौपाने, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, वसन्त बानियाँ, लिलम बस्नेत, इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्की, वसन्तीदेवी यादव, सर्वध्वज साँवा, एकराज कार्की, हिराकुमार थापा, अर्जुन राई, आशारत्न जवेगू, काजीमान कागते, तेजमान कन्दङगवा, नीरन राई, विनादेवी राई र पूर्णप्रसाद राई ।
एमालेमा हुँदा बागमति प्रदेशका नेपाल पक्षका सांसद
अष्टलक्ष्मी शाक्य, अरुणप्रसाद नेपाल, इन्द्रमाया गुरुङ, उर्मिला कर्माचार्य, कुसुमकुमार कार्की, कृष्णप्रसाद भुर्तेल, कृष्णप्रसाद शर्मा खनाल, केशवप्रसाद पोखरेल, जीवन खड्का, देवकी श्रेष्ठ, पार्वती सिलवाल, प्रकाश श्रेष्ठ, माधवप्रसाद पौडेल, मीना ज्ञवाली नेपाल, मुनु सिग्देल, रचना खड्का, रमा आलेमगर, राजेन्द्रप्रसाद पाण्डे, डा. राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसन्तप्रसाद मानन्धर, शान्तिप्रसाद पौडेल ।
संस्थापनतर्फका सांसद
अजयक्रान्ति शाक्य, आशामाया तामाङ, केशवराज पाण्डे, कैलाशप्रसाद ढुंगेल, गणेशप्रसाद दुलाल, गोमा भुर्तेल, चन्द्र लामा, चेतनाथ संजेल, जुनेली श्रेष्ठ, डोरमणि पौडेल, दावादोर्जे लामा, दीपक निरौला, नारायण सिलवाल, प्रदीप कटुवाल, बद्री मैनाली, वसुन्धरा हुमागाईं, बेलीमाया घले, मणिराम फुँयाल, मैना अछामी, योगेन्द्रराज संग्रौला, राजेन्द्र शाक्य, रामकुमार अधिकारी, रामेश्वर फुँयाल, विजय सुवेदी, विनोदकुमार खड्का, शशिजंग थापा, शान्ति थिङ, सरस्वती बस्नेत, सरस्वती बाटी, सरेश नेपाल, सानुकुमार श्रेष्ठ, सीता लामा, ज्ञानेन्द्र शाक्य ।