१३ वर्षे उमेरमै कम्युनिस्ट आन्दोलनमा संलग्न भएर भूमिगत राजनीति हुँदै १५ वर्ष पार्टी र २० महिना प्रधानमन्त्रीको नेतृत्व सम्हालेका शीर्ष नेता माधवकुमार नेपालले जीवनको उत्तरार्द्धमा पार्टी विभाजनको नेतृत्व लिएका छन् ।
०२६ सालमा पुष्पलाल समूहबाट राजनीति सुरु गरेका नेता नेपालले तीसको दशकदेखि अहिलेसम्मको करिब साढे चार दशकको राजनीतिक यात्रा छिन्नभिन्न कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने अभियन्ताका रूपमा व्यतीत गरे ।
तर, उमेरले सात दशकनजिक पुगेका नेपालले जीवनकालको उत्तरार्द्धमा भने एमाले विभाजनको नेतृत्व लिएका छन् । नेपाल स्वयंले भने यसलाई पार्टी विभाजनभन्दा पनि एकीकृत कम्युनिस्ट पार्टी बनाउने उद्देश्यकै लागि पार्टी पुनर्गठन अभियानको नामकरण गरेका छन् ।
कम्युनिस्ट पार्टी सञ्चालनमा विधि, पद्धति, सामूहिक प्रणालीसहितको अभ्यास समाप्त पारेर अध्यक्ष केपी ओलीमा देखिएको सर्वसत्तावाद र निरंकुश प्रवृत्तिमा सुधार नआएपछि पार्टी पुनर्गठन गर्न बाध्य भएको नेपालले बताउने गरेका छन् ।
विभाजनपछि पनि एमालेसँगको एकताको ढोका जुनसुकै वेला खुला रहने गरी अगाडि बढ्ने र नवगठित पार्टी एमाले समाजवादीलाई क्रान्तिकारी पार्टी बनाएर एकीकृत कम्युनिस्ट पार्टी बनाउन प्रयास गर्ने नेपालले बताएका छन् ।
०३२ सालमा तत्कालीन अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (कोके)को संस्थापक नेता नेपालले छरिएर रहेको कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने अभियानको नेतृत्व गर्दै राजनीतिक ‘करिअर’ अगाडि बढाएका थिए । ०३५ मा तत्कालीन मालेको संस्थापक नेता नेपालले भूमिगत कालमा पुष्पलाल समूह, रातो झन्डा समूह, मुक्ति मोर्चा समूहलगायतलाई एकीकृत बनाउने काममा नेतृत्वदायी भूमिका खेलेका थिए ।
०४६ को जनआन्दोलनमा संयुक्त वाममोर्चाको योजनाकार र जनआन्दोलनको सदस्य नेपालले ०४७ मा संविधानको मस्यौदाकारका रूपमा संविधान बनाउने कामको नेतृत्व गरेलगत्तै मालेको दोस्रो वरीयताको नेताको हैसियतमा नेकपा माक्र्सवादी पार्टीसँग एकता गर्न भूमिका खेलेका थिए । ०५० जेठमा मदन भण्डारीको निधनपछि महासचिव बनेका नेपालले ०५४ मा विभाजित पार्टीलाई चार वर्षपछि एकीकरण गराएर एमालेलाई कांग्रेसकै हाराहारीमा पुरानै हैसियतमा फर्काए ।
तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेमध्येका एक नेपालले निरन्तर उससँगको पार्टी एकतामा जोड दिँदै आएका थिए । त्यसका लागि माओवादीसँग शत्रुतापूर्ण होइन, संघर्ष, रूपान्तरण र एकताको नीति अवलम्बन गर्नुपर्ने उनको मान्यता थियो । ३ जेठ ०७५ सम्म आइपुग्दा उनले तत्कालीन माओवादी केन्द्रसँगको एकीकरणमा अध्यक्ष ओलीलाई साथ दिने महत्वपूर्ण सारथिको भूमिका खेले ।
तर, तीन वर्षयता जीवनको उत्तराद्र्धमा भने नेपालले पार्टीभित्र निरन्तर आन्तरिक लोकतन्त्रको मुद्दा उठाएर अध्यक्ष ओलीलाई निरंकुश बनेको आरोप लगाउँदै ‘ओली प्रवृत्ति’का रूपमा संघर्ष गरे । गत वैशाखमा पार्टी एकताका लागि आफ्नोतर्फबाट ६बुँदे प्रस्ताव अघि सारेका नेपालले एकताका लागि महाधिवेशनसम्मका लागि अल्पमत–बहुमतको सट्टा सहमतीय प्रणालीमा पार्टी सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यसका लागि निर्णय प्रक्रियामा आफ्नो समूहको स्वामित्वका लागि समान हस्ताक्षर उनको न्यूनतम बटमलाइन थियो ।
आफूलाई साथ दिने नेता–कार्यकर्ताको सुरक्षाका लागि राखेको त्यस्तो सर्तलाई अध्यक्ष ओलीले स्वीकार नगरेपछि नेपालले पार्टी विभाजन गरेका छन् । तर, जीवनकालको उत्तराद्र्धमा उनलाई कोके कालका मुकुन्द न्यौपानेले मात्र साथ दिएका छन् । उनकै समूहमा रहेका समकालीन अमृत बोहरा भने एकता अभियानमा देखिएका छन् ।
राजनीतिक निर्णयमा हाबी हुने दोस्रो तहमा रहेका स्थायी समितिका अधिकांश नेताले उनको साथ छाडेका छन् । नेपाललाई तेस्रो र चौथो तहका नेता–कार्यकर्ताहरूको भने उल्लेख्य साथ रहेको छ । नयाँ पार्टी गठन नेपालका लागि चुनौतीरहित छैन । यसबीचमा उनले आफूमाथि लागेका आरोपहरूको खण्डन गरेर पुग्दैन, सांगठनिक शक्ति आर्जन गरेर मात्रै विभाजनको औचित्य पुष्टि गर्नुपर्ने बाध्यता हुनेछ ।