गत ११ साउनमा निर्वाचन आयोगले जसपा विवाद टुंग्याउँदै उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि अल्पमतमा परेका तत्कालीन अध्यक्ष महन्थ ठाकुरका लागि अध्यादेश जीवनदान हुनेछ । अध्यादेशले ठाकुर र राजेन्द्र महतोलाई संसदीय मान्यतासहितको पार्टी बनाउने बाटो खुला गर्नेछ ।
यही कारण अध्यादेशप्रति उत्साही ठाकुरसहितका नेताहरूले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यादेश ल्याउन आग्रह गरेका थिए । ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा निर्वाचन आयोगले ११ साउनमा सनाखत गर्दा ठाकुर पक्षमा १६ जना देखिएका थिए ।
यादवका पक्षमा ३४ र एकजना (रेशम चौधरी) तटस्थ बसेका थिए । यसरी हेर्दा केन्द्रीय कार्यकारिणीमा ठाकुर पक्षमा ३१ दशमलव ३७ प्रतिशत पुग्छ । यद्यपि, यादव पक्षले गरेको पत्राचारअनुसार आयोगले जसपाको केन्द्रीय कार्यकारिणी अद्यावधिक गरेको छ ।
३५ सदस्यीय कार्यकारिणीमा ठाकुरसहितका १६ नेता समेटिएका छैनन् । अर्कोतर्फ संघीय संसद्मा ठाकुरपक्षसँग ३७ दशमलव १४ प्रतिशत सांसद छन् । प्रतिनिधिसभामा ३४ र राष्ट्रिय सभामा तीन गरी जसपाका ३७ सांसद छन् ।
जसमध्ये प्रतिनिधिसभाका दुई सांसद निलम्बनमा छन् । संघीय संसद्मा हाल कायम रहेको जसपाका सांसद ३५ हुन् । त्यसमध्ये उपेन्द्र पक्षसँग २२ र ठाकुर पक्षसँग १३ सांसद छन् ।