अफगानिस्तानमा रोजगारीको सिलसिलामा रहेका एक सय ३४ जना नेपाली सरकारको सम्पर्कमा आएका छन्। सोमबार साँझ ६ बजेसम्म कन्सुलर सेवा विभागको वेब पोर्टलमा उनीहरूले आफ्नो विवरण दर्ता गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसरी दर्ता गराउन सकिन्छ विवरण
अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गराउन भनेको छ। अथवा भाइवर र ह्वाट्सएपबाट पनि यो विवरण पठाउन सकिन्छ।
त्यहाँ रहेका नेपालीहरूले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा आफ्नो विवरण रजिस्ट्रेसन गराउन सक्नेछन्। उक्त वेबसाइट लगइन गरेपछि Registration Form for Nepalis in Afghanistan भन्ने वटनमा क्लिक गरेर आफ्नो विवरण भर्न सकिने व्यवस्था गरिएको छ। फर्ममा पूरा नाम, पासपोर्ट नम्बर, जारी मिति, इमेल, अफगानिस्तानमा सम्पर्क फोन, त्यहाँको ठेगाना, आफू कार्यरत कम्पनीको नाम, अफगानिस्तान पठाउने एजेन्सीको नाम र ठेगाना, नेपालको घर ठेगाना, नेपालमा सम्पर्क व्यक्तिको नाम, नेपालमा सम्पर्क व्यक्तिको फोन नम्बर र अफगानिस्तानमा हालको अवस्थाको विवरण खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
अथवा भाइवर र ह्वाट्सएपसहितको मोबाइल नम्बरहरु +977-9749326458 (कन्सुलर सेवा विभाग), +977-9749326459 (परराष्ट्र मन्त्रालय) र +९१८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँदिल्ली) मा सम्बन्धित व्यक्ति वा परिवारका सदस्यले विवरण टिपाउन सक्छन्।
त्यहाँ कार्यरत नेपालीलाई सामाजिक सञ्जालको प्रयोगबाट आपसमा सुरक्षा स्थिति तथा उद्धारसम्बन्धी सूचना आदानप्रदान गर्न र माथिका नम्बरमार्फत सोको जानकारी नेपालमा उपलब्ध गराउनसमेत सरकारले अनुरोध गरेको छ।
काबुलबाट आइतबारदेखि नै त्यहाँ रहेका नेपालीको सुरक्षित फिर्ती प्रक्रिया क्रमश: सुरु भइसकेको परराष्ट्रले जनाएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले सबैतर्फबाट कूटनीतिक पहल गरिरहेको र अफगानिस्तानमा रहेका नेपालीहरूको क्रमिक रूपमा स्वदेश आगमन एक–दुई दिनमा सुरु हुने जनाएको छ।