अफगानिस्तानबाट नेपाली भन्छन्– सरकारले चाँडो उद्धार गरोस्

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

सबैलाई थाहा छ, अफगानिस्तानको विमानस्थलमा अहिले के भइरहेको छ, त्यसले विदेशीहरूलाई लैजान जहाजहरू आउन सजिलो भएको छैन । हामी हिजै जाने कुरा थियो, तर रातिपख हामीलाई अर्को सूचना आइन्जेलका लागि रद्द भएको जानकारी प्राप्त भयो।  त्यहाँ नखुल्दा कम्पनीसँग पनि हामीलाई कुराउनबाहेक अरू विकल्प छैन।  तालिवानहरूरुले हामी सबैको सुरक्षा दिन्छाैँ भनेर आश्वस्त पारेका छन्।  काम गर्ने दाजुभाइहरूले हतियार त्यागेर बसेका छन्, बाहिरबाटै उनीहरूले सुरक्षा दिइरहेका छन्।  

अहिले अफगानिस्तानमा हामीलाई तालिवानबाट खतरा छैन, उनीहरूले सुरक्षा नै दिएका छन्।  तर, तालिवान अहिले सरकार भएको छ, त्योबाहेक अरू पनि दुई–तीनवटा विद्रोही समूह छन्।  उनीहरूले आक्रमण गर्न सक्ने खतरा नै यहाँको चुनौती हो। त्यसैका लागि तालिवानीहरू सतर्क भएका छन्।  

त्यही खतरालाई हेरेर जतिसक्दो छिटो निस्कन सबैले चाहेका छन्।  नेपालबाट जहाज आउने भन्ने सुनेको छु।  मैले पनि आज बिहान नेपाल फर्कन फाराम भरेँ।  हाम्रो जिम्मेवारी कम्पनीले लिएको छ।  तर, काम नपाई यसै होटेलमा बसिरहेका नेपालीलाई डरलाग्दो अवस्था छ।  उनीहरूको सम्पर्कमा आउने र उद्धार गर्ने काम सरकारले गरोस्।  नेपालबाट आउने भनिएको जहाजले कम्पनीबाहिर रहेका अलपत्र परेका नेपालीहरूलाई प्राथमिकता दिएर उद्धार गरे आभारी हुन्थ्यौँ।   

गार्दावर्ल्ड सेक्युरिटी कम्पनीका लागि काम गर्ने गरी म पाँच वर्ष पहिले अफगानिस्तान आएको हुँ।  पूर्वसैनिकको रूपमा यहाँ कतिसम्म खतरा हुन सक्छ भन्ने आकलन गरेर आएकाले अहिलेको अवस्था डराएको त छैन, तर यहाँका विदेशीहरू सबै चाँडो निस्कन चाहेकोले हामी पनि चाँडै फर्कन चाहन्छौँ।   

पहिले ११ सेप्टेम्बरसम्म सबै विदेशी सेनाले अफगानिस्तान छाड्ने सहमति थियो । तर, यति चाँडो–चाँडो परिवर्तन भए, यहाँ भएका विदेशी नियोगहरूले आफ्ना कर्मचारीहरू, नागरिकलाई फिर्ता पठाउन आपत्कालीन निर्णय लिनुपर्यो।  
गार्दावर्ल्ड सेक्युरिटी कम्पनीमा रुमानिया, युक्रेन, जर्जिया, बुल्गेरिया, नेपाल तथा भारतको दार्जिलिङका दाजुभाइहरू सुरक्षागार्डको रूपमा काम गर्थे।  त्यसमा एक हजारदेखि एक हजार दुई सय हाराहारीमा नेपालीहरू सुरक्षागार्डको रूपमा काम गर्छन्।  उनीहरूलाई विभिन्न एम्बेसीहरू, चेक प्वाइन्टमा सुरक्षा दिन जिम्मेवारी थियो।  शनिबार बेलुका ब्रिटिस एम्बेसीमा काम गर्ने नेपाली, दार्जिलिङका गोर्खा पनि थिए, शुक्रबार उनीहरूलाई यहाँबाट निकालिइसकिएको छ, उनीहरू अहिले दुबईमा छन्।  

यहाँबाट निस्केपछि सीधै नेपाल पठाउने कम्पनीको तयारी छ।  फेरि कम्पनी अफगानिस्तान फर्कियो भने हामीलाई पनि बोलाउँछौँ भनेका छन्।  त्यसबाहेक अन्यत्र जागिर दिने कुरा छैन।  जति पनि कम्पनीमा काम गर्ने थिए, उनीहरूलाई सम्बन्धित कम्पनीले समन्वय गरेर फर्काइसकेको छ।  अमेरिकी आर्मी फर्किसके। विदेशी नियोगका कर्मचारी पनि धमाधम फर्किरहेका छन्।  जति पनि सम्बन्धित कम्पनी छन्, उनीहरूले आफ्नो मातहतमा रहेका विदेशी नागरिकलाई सुरक्षासहित फर्काइरहेका छन्।  अहिले रोजगारदाता कम्पनीले नै आफ्ना कर्मचारीको सुरक्षा र फिर्तीको जिम्मा लिएको बताएका छन्।  त्यसले हामीलाई ढुक्क बनाएको छ। हामीलाई दुबईबाट नेपाल फर्काउने कुरा छ।  त्यहाँ धेरै नेपाली हुने हुँदा दुई–चार दिन नेपाल पुग्न लाग्ला।  

(भारती अफगानिस्तानमा कार्यरत छन्।)

सुझावित समाचार