संवैधानिक परिधि नाघेर एमाले विवादमा मध्यस्थता गर्दै राष्ट्रपति

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

एमाले विवाद वारपारको बिन्दुमा पुगेपछि दोस्रो तहका नेताहरूले राष्ट्रपति विद्या भण्डारीलाई पार्टी मिलाउने काममा मध्यस्थताको भूमिका खेल्न आग्रह गरेका छन् । राष्ट्रपति भण्डारीले सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । उपाध्यक्ष भीम रावलले आइतबार राष्ट्रपति भण्डारीलाई भेटेर अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउने काममा मध्यस्थता गर्न आग्रह गरेका हुन् । विगतमा संवैधानिक मर्यादा मिचेको र सत्तारुढ पार्टी नेकपाको आन्तरिक विवादमा हात हालेको भनेर आलोचित राष्ट्रपतिलाई एमाले नेताले आफ्नो पार्टीको विवाद मिलाउन आग्रह गरेका हुन् ।

राष्ट्रपतिसँगको पछिल्लो भेटवार्तापछि रावलले बालकोट पुगेर अध्यक्ष ओलीसँग पनि लामै छलफल गरेका थिए । त्यसलगत्तै उनी साँझ विघटित कार्यदलका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेलगायतसँग पनि छलफलमा बसेका थिए ।  रावलले पार्टी एकताका लागि भइरहेको प्रयासलाई सकारात्मक दिशामा अघि बढाउने सन्देशका लागि आइतबार डाकिएको केन्द्रीय कमिटी बैठक केही दिन पर सार्न ओलीलाई भेटेर आग्रह गरेका थिए । रावलको त्यस्तो आग्रहपछि आइतबार बोलाइएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक ओलीले सोमबारसम्म स्थगन गरेका थिए ।

बैठक स्थगनपछि पनि अध्यक्ष ओली र नेपालबीच 
भेटवार्ता गराउने दोस्रो तहका नेताहरूको प्रयास भने सफल हुन सकेको छैन । अनौपचारिक कुराकानी चलिरहे पनि कुनै ठोस सहमति भने बनिनसकेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । ‘अनौपचारिक कुराकानी त चलिरहेकै छ, तर देखिने प्रगति भइसकेको छैन, बैठक एक दिन मात्र सारेर भएन, आपसी सल्लाह र सहमतिमा दुई–चार दिन सारेर एकता टुंग्याएपछि सहमतिमा बैठक राख्ने हो । २ जेठमा जाने भनेकै त्यही हो,’ पन्तले भने, ‘दुई–तीन दिन त कुराकानी गरेर टुंगोमा पुग्नै समय लाग्ला ।’

वरिष्ठ नेता नेपाललाई अर्को अध्यक्ष मान्न तयार भएका ओली पछिल्ला दिनमा ‘ब्याक’ हटेका छन् । २२ साउनमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट सम्मानजनक एकतालाई प्राथमिकता दिने निर्णय गरेको वरिष्ठ नेता नेपाल पक्षले ओली पक्षले संगठनात्मक गतिविधि नरोकेको भन्दै समानान्तर गतिविधि अगाडि बढाउन सुरु गरेको छ । नेपाल समूहले जनसंगठनका कमिटी, मातहत कमिटीको गठन र भेलालाई पनि नरोक्ने र केही दिनभित्रै ठोस निष्कर्ष नआए सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलगायत कामलाई तीव्रता दिने तयारी गरिरहेको छ । 

सुझावित समाचार