नेप्से झिनो अंकले बढ्दा कारोबार रकम १४ अर्बमाथि : लगानीकर्ताको ध्यान हाइड्रोपावरतर्फ

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

आइतबार नेप्से झिनो अंकले बढेको छ । लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा रहँदा धितोपत्र बजारमा कारोबार अवधिभर उतारचढाव कायम रह्यो । अन्ततः बजार अन्तिम समयमा सुधारिँदै बन्द हुन पुुगेको हो । लगानीकर्ता अझै पनि खुलेर बजारतर्फ आकर्षित हुन सकेका छैनन् । विश्लेषकहरू मौद्रिक नीतिपश्चात् बजारले अपेक्षाअनुसारको नतिजा निकाल्न सक्ने लगानीकर्ताको विश्वास हुनाले पनि बजारमा सुुस्तता छाएको बताउँछन् ।

साताको पहिलो कारोबारका दिन हाइड्रोपावर समूहको सूचक ३ दशमलव ३३ प्रतिशतले बढेको छ भने विकास बैंक, वाणिज्य बैंक र फाइनान्समा पनि लगानीकर्ताको आकर्षण देखिएको छ । माइक्रो फाइनान्स, जीवन बिमा र निर्जीवन बिमाका लगानीकर्ता भने निराश बनेका छन् । आइतबार नेप्से परिसूचक शून्य दशमलव ६६ अंकले बढेर ३ हजार १ सय ८ दशमलव १३ बिन्दुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६९ अंकले बढेको छ । 

 ६ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार
आइतबार ६ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनियन लाइफ इस्योरेन्स, न्यादी ग्रुुप पावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंक, छ्याङ्दी पावर कम्पनी, बुटवल पावर कम्पनी, नेपाल फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सबैको लघुुवित्त वित्तीय संस्थाको सेयर करिब ४ प्रतिशतले घट्दा यी कम्पनीका लगानीकर्ता भने निराश बनेका छन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २७ कम्पनीको २ करोड ६९ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको ८१ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ६० करोड ७१ लाख रुपैयाँ, न्यादी ग्रुुप पावरको ४९ करोड ४७ लाख रुपैयाँ, बुटबल पावर कम्पनीको ३८ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।

See More On

सुझावित समाचार