कक्षा १२ को परीक्षा पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई सिसिएमसीको पत्र

शनिबार, २३ साउन, २०७८
डिजिटल संस्करण

तीन लाख ७२ हजार ३४८ परीक्षार्थी अन्योलमा

आगामी ३१ साउनदेखि कक्षा १२ को परीक्षा सञ्चालनको अन्तिम तयारी भइरहेको वेला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले परीक्षाबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । पछिल्ला केही दिनयता कोभिड संक्रमितको संख्या बढेपछि स्वास्थ्य मन्त्रालयको आग्रहमा सिसिएमसीले यस्तो निर्णय गरेको हो । 

बोर्डले परीक्षाअघि विद्यार्थी र शिक्षकलाई खोप दिन आग्रह गरेको, तर स्वास्थ्य मन्त्रालयले जिम्मेवारी पूरा गर्न नसकेर परीक्षा नै पुनर्विचारको पत्र पठाएको बोर्डका पदाधिकारीको गुनासो छ । बोर्डले परीक्षाको तयारी लगभग सकेको छ । सिसिएमसीको पत्रले कक्षा १२ मा तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थी अन्योलमा परेका छन् । 

सिसिएमसीका प्रवक्ता नूरहरि खतिवडाका अनुसार कक्षा १२ को परीक्षा पुनर्विचार गर्न स्वास्थ्य मन्त्रालयबाट पत्र आएकाले त्यही आग्रह गरेर शिक्षा मन्त्रालयमा पत्राचार गरेको बताए । प्रवक्ता खतिवडाले भने, ‘पहिले बोर्डको प्रस्ताव औचित्यपूर्ण लागेर अनुमति दिइएको हो, परीक्षा रोक्नु नै भन्ने छैन, बोर्डले निर्णय गर्न सक्छ ।’ 

सिसिएमसीको पत्र आएपछि शनिबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । बैठकले कक्षा १२ को परीक्षा के हुने भन्ने निर्णय गर्नेछ । बोर्डका पदाधिकारी दबाबमा छन् । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘बोर्डले परीक्षाको सबै तयारी गरेको थियो, सारा विद्यार्थी तयारी अवस्थामा थिए, अहिले यो निर्णय आउनु दुःखद हो ।’ सामाजिक सञ्जालमा परीक्षा रद्द गर्न लबिङ भएको छ । परीक्षा स्थगितका लागि अभियान चलाउने विद्यार्थी र अभिभावकभन्दा अन्य व्यक्ति रहेको परीक्षा बोर्डका अधिकारीको भनाइ छ ।

परीक्षाको तयारी कति ? 
यसअघि सिसिएमसीले परीक्षा गर्न सर्तसहित अनुमति दिएपछि राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमै होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । होम सेन्टरमै परीक्षा हुन लागेको र ७८ प्रतिशत परीक्षा केन्द्रमा सयभन्दा पनि कम विद्यार्थी रहेकाले स्वास्थ्य मापदण्ड अपनाउँदा जोखिम नहुने दाबी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।

त्यसैअनुसार परीक्षा सञ्चालनको तयारी भएको छ । परीक्षा सञ्चालनका लागि चार हजार तीन सय १० परीक्षा केन्द्र तोकिएका छन् । बोर्डका अनुसार एक हजार एक सय एक परीक्षा केन्द्रमा २५ जनाभन्दा कम विद्यार्थी छन् । त्यस्तै, २६ देखि ५० विद्यार्थी भएका एक हजार दुई सय ५७ र ५१ देखि सयजना विद्यार्थी भएका एक हजार २३ परीक्षा केन्द्र छन् । समग्रमा सयभन्दा कम विद्यार्थी भएका परीक्षा केन्द्रको संख्या तीन हजार तीन सय ८१ छ । कतिपय परीक्षा केन्द्रमा १० जनाभन्दा पनि कम विद्यार्थी रहेको बोर्डले जनाएको छ ।

त्यस्तै, एक सय एकदेखि दुई सय विद्यार्थी रहेका परीक्षा केन्द्र पाँच सय ३४, दुई सय एकदेखि तीन सय विद्यार्थी रहेका एक सय ६६, तीन सय एकदेखि पाँच सय विद्यार्थी रहेका एक सय ४० परीक्षा केन्द्र छन् । त्यस्तै, पाँच सय एकभन्दा धेरै विद्यार्थी रहेका विद्यालयको संख्या ८९ छ । बोर्डले एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी राख्न नपाउने गरी परीक्षा सञ्चालनको व्यवस्थापन गर्न सर्कुलर गर्ने तयारी गरेको छ । 

गत जेठमा तय गरेको परीक्षा कोरोना संक्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । त्यस्तै, ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरेको थियो । 

यस वर्ष भने शतप्रतिशत भारको नै परीक्षा लिने भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सकेसम्म कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई खोपको व्यवस्थापन गर्न निर्देशन दिएको छ । बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले इन्टरनेटको सुविधा नभएका केन्द्रमा प्रश्नपत्रको हार्डकपी पठाइसकेको बताए । उत्तरपुस्तिका पनि परीक्षा केन्द्रहरूमा पुगिसकेका छन् । 

स्वास्थ्य मन्त्रालयले बिहीबार संसद्मा पेस गरेको कोभिड– १९ को संक्रमणको पाँचमहिने प्रक्षेपणमा साउनपछिका महिना घट्दै जाने उल्लेख गरेको छ  । संसद्को शिक्षा स्वास्थ समितिमा पेस गरेको विवरणअनुसार साउनदेखि मंसिरसम्मको पाँच महिना अवधिमा एक लाख ९३ हजार आठ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको उल्लेख छ ।

विवरणमा साउनमा ५३ हजार तीन सय सात, भदौमा ४५ हजार सात सय २६, असोजमा ३८ हजार पाँच सय ९७ र कात्तिकमा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख छ । मंसिरमा यो संख्या अझै घटेर २५ हजार एक सय ८३ पुग्ने सम्भावना रहेको जनाएको छ । 

सुझावित समाचार