एमाले विवाद आजै सहमतिमा पुग्ने कार्यदल सदस्य पन्तको दाबी (भिडियोसहित)

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलका सदस्य रघुजी पन्तले कार्यदलले आजै रातिसम्ममा सहमतिमा पुग्ने गरी छलफल गरिरहेको बताएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा भएको छलफलपछि सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै कार्यदल सदस्य रघुजी पन्तले कार्यदलमा छलफल सकारात्मक ढंगले अगाडि बढेको भन्दै आजै रातिसम्ममा सहमति हुन सक्ने दाबी गरे ।

उनले भने, ‘मस्यौदामा छलफल गर्यौँ । मस्यौदामा हामीलाई लागेका सुझाबहरू दियौँ । छलफल सकारात्मक ढंगले भएको छ । हाम्रो सुझाबहरूलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णतामा पुर्याउने प्रयत्न छ । पार्टी एकतालाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने केही बुँदाहरूमा हामीले आफ्ना धारणाहरूलाई सहमतिका साथ बनाउने प्रयत्न गरेका छौँ । साथीहरूले राखेका भावना, धारणा र विचारहरूलाई पनि राखेर त्यसलाई पूर्ण बनाउने प्रयत्न भएको छ । सम्भव भएसम्म हामी आज नै त्यसलाई सकौँ भन्ने प्रयत्नमा छौँ । छलफल चलिरहेको छ । त्यसलाई फाइनल रूप दिने प्रयास भइरहेको छ ।’

कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ । नेताहरूले हरेक दिन सहमतिको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन् ।
 

सुझावित समाचार