पहिलो वर्षमै जीर्ण बनेको फेवातालको सिल्ट ड्याम र पोखरी दोस्रो वर्षमा भत्कियो

निर्माणमै प्रविधिक त्रुटी, ‘रेक्ट्रोफिटिङ’ का लागि थप २७ करोड खर्चिनुपर्ने

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

निर्माणको पहिलो वर्ष पोहोर नै जीर्ण बनेको फेवाताल जोगाउने सिल्ट्रेसन ड्याम र पोखरी दोस्रो वर्षमा भत्किएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको २८ करोड १६ लाखभन्दा बढी लगानीमा निर्मित यस्ता पोखरीमध्येको मुख्यपोखरा– २३ स्थित हर्पन खोलामा निर्माण पूरा भएको ड्याम गएराति बाढीले बगाएको छ । 

गएराति उक्त ड्याम भत्किँदा त्यस मुनिका बस्तीसमेत जोखिममा परेको वडा नम्बर २३ का वडाध्यक्ष विष्णु पराजुलीले जानकारी दिए । ‘हर्पन खोलामा निर्माण भएको सिल्ट पोखरी र ड्याम गएराति आएको बाढीले भत्कायो । त्यस मुनिका बस्तीसमेत जोखिममा परेका छन्,’ वडाध्यक्ष पराजुलीले नयाँपत्रिकासँग भने । उनका अनुसार ६ वटा घर तत्कालै जोखिममा छन् । ड्यामका कारण खोला डाइभर्ट हुँदा डेढ सय रोपनी धानखेतसमेत लेदो माटोले पुरिएको छ । 

हर्पन खोलाको उक्त ड्याम र पोखरी निर्माणका लागि मात्र प्रदेश सरकार र महानगरले सात करोड ८८ लाख रुपैयाँ खर्चिएकोे महानगरका इन्जिनियर विमल आचार्यले जानकारी दिए । गत वर्ष नै जीर्ण बनेको उक्त ड्यामलाई निर्माण कम्पनीले नै हिउँदमा टालटुल पारेको थियो । 

काम सम्पन्न भएर भुक्तानी लिएको १३ महिनासम्म निर्माण कम्पनीले मर्मत गर्नुपर्ने भन्ने सामान्य नियम भए पनि सम्झौतामा १२ महिना लेखिएकाले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको इन्जिनियर आचार्य बताउँछन् । 

‘निर्माण भएर भुक्तानी भएको १३ महिनासम्म निर्माण कम्पनीले मर्मत गर्नुपर्ने हो । सम्झौतामा १२ महिना भएछ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफलमै छौँ,’ उनले भने । उक्त ड्याम र पोखरी निर्माणको जिम्मा खड्का कृष्ण/पिके जेभी दाङले लिएको हो 

निर्माण नै त्रुटिपूर्ण थियो, भत्कनु स्वाभाविक : ई. बराल
गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान सदस्य डा. विष्णुराज बरालले निर्माण नै त्रुटिपूर्ण रहेकाले ड्याम भत्कने निश्चित नै रहेको प्रतिक्रिया दिएका छन् । ‘हामीले अध्ययन नै गरेर त्यसको प्रतिवेदन दिएका छौँ । ड्याम भत्किन्छ भनेरै प्रतिवेदन दिएको हो । त्यो मात्र होइन, अरू चेकड्याम र सिल्ट पोखरी पनि रोट्रोफिटिङ नगरी हुँदैन । त्यसको सबै लगत अध्ययन गरेर हामीले दिएका थियौैँ,’ उनले भने । 

गत वर्ष उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. विष्णुराज बरालको संयोजकत्वमा निर्माण भएका चेक ड्याम र पोखरीको अध्ययन गरेर प्रतिवेदन निर्माणका लागि प्राविधिक समिति नै गठन गरेको थियो । उक्त समितिले फिल्ड भिजिटपछि रेक्ट्रोफिटिङ गर्नुपर्ने निष्कर्ष निकालेको हो । रेक्ट्रोफिटिङका लागि २७ करोड रुपैयाँ थप लगानी गर्नुपर्ने देखिएको संयोजक डा. बराल बताउँछन् । 

डा. बरालका अनुसार चेक ड्याममा केही संरचनागत स्वरूप पनि परिवर्तन गर्नुपर्ने देखिएको छ । सिल्ट पोखरीमा जम्मा भएको सिल्टलाई झिक्ने पहुँचका लागि मार्ग निर्माण, ड्याममा आपतकालीन गेट राख्नुपर्ने, जम्मा हुने सिल्टको गुणस्तर र परिमाणसमेत प्रतिवेदनमा उल्लेख गरिनेछ । प्रतिवेदन अबको एक हप्ताभित्रमा हस्तान्तरण गर्ने उनले बताए । 

गत २१ भदौमा गठित उक्त प्राविधिक समितिमा ताल संरक्षण तथा विकास प्राधिकरणका सिइओ अनुप गुरुङ, पोखरा महानगरपालिकाका योजना महाशाखा प्रमुख ई. शारदामोहन काफ्ले, स्ट्रक्चर डिजाइनविज्ञ ई. मणिराज दाहाल, भूगर्भविद् धनबहादुर श्रेष्ठ र जलाधार संरक्षण कार्यालय तनहुँका प्रमुख कृष्ण घिमिरे सदस्य थिए । 

See More On

सुझावित समाचार