सभामुख अग्निप्रसाद सापकोटाले संसद् दिवसको अवसरमा सिंहदरबारस्थित संघीय संसद् परिसरमा वृक्षरोपण गरेका छन् । संसद् दिवस २०७८ का अवसरमा उनले सचिवालयको बगैँचामा रुद्राक्षको बिरुवा रोपेका हुन् । कोभिड जोखिमका कारण दिवस मनाउन ठूलो कार्यक्रम राख्न नसकिएको उनले बताए ।
जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षरोपण कार्यक्रम रोजिएको उनको भनाइ थियो । ‘पृथ्वीको उत्पत्ति भएदेखि नै रूख, बिरुवा धेरै महत्वपूर्ण छ, महान् दार्शनिक एवं महान् धर्तीपुत्र गौतम बुद्धले पनि रूख, बिरुवालाई धेरै महत्व दिनुभएको छ,’ सभामुख सापकोटाले भने, ‘प्रतिकूल अवस्थामा यसको महत्वलाई दर्शाउँदै संस्थाको दिवस मनाउन वृक्षरोपणको कार्यक्रम गरिएको हो ।’
सभामुख सापकोटाले वातावरणबाट हुने असरबाट मुक्त हुन वृक्षरोपणमा सहभागी हुन सबैमा अपिलसमेत गरे । उनले भने, ‘वातावरण अनुकूल बनाउन आफ्नो अनुकूल ठाउँमा कम्तीमा एउटा बिरुवा रोपेर हुर्काउन सबैलाई अपिल गर्दछु ।’
त्यस्तै, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, संघीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलगायतले पनि सचिवालय परिसरमा वृक्षरोपण गरेका थिए ।