आउँदो सोमबारदेखि माथिल्लो तामाकोसीबाट ७६ मेगावाट विद्युत् उत्पादनको तयारी,परीक्षण अन्तिम चरणमा

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादनका लागि अन्तिम चरणको परीक्षणको काम धमाधम भइरहेको छ । ७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको छ । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमश: विद्युत् उत्पादन गरिनेछ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारदेखि विद्युत् उत्पादनको तालिका तय गरेको हो । 

टोलीले विद्युतगृहमा भइरहेको उपकरणहरूको परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यु खिम्ती सबस्टेसनलगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरूसँग छलफल गरेको थियो । ‘विभिन्न समस्या झेल्दै आएको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन गर्ने अवस्थामा पुर्‍याएका छौँ, सम्पूर्ण परीक्षणहरू अन्तिम चरणमा पुगेका छन्, अब कुनै प्राविधिक समस्या नआएमा सोमबार बिहान ‘स्विचअन’ गरी पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्छौँ,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने ।

माथिल्लो र तल्लो ठाटो सुरुङको बीच भागमा राखिने पेनस्टक पाइपको डिजाइन परिमार्जन र निर्माण सम्पन्न भएर भासिएको प्रसारण लाइनको टावर निर्माणका विषयमा कम्पनीबाट तत्काल निर्णय नलिइएको भए आयोजना अझै पर धकिलिने अवस्था थियो, समयमै निर्णय गरी काम सम्पन्न गरेको उनको भनाइ छ ।

जलाशय र बालुवा थिग्य्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचनाहरू र त्यहाँ जडान गरिएका गेट, स्टपलगजस्ता हाइड्रो मेकानिकल उपकरणहरूको सबै प्रकारका परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । विद्युतगृहमा पहिलो युनिटको परीक्षण भइरहेको छ । 

आयोजनाबाट उत्पादित विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ । यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको परीक्षण भइरहेको छ । ७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ । माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिनेछ ।

खिम्तीमा निर्माणाधीन २२० केभीको न्यु खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ । ‘सबस्टेसनको परीक्षणका लागि केही दिन लाग्ने देखिएकाले हाललाई वैकल्पिक व्यवस्था गरी आयोजनाको विद्युत् न्यु खिम्ती सबस्टेसनमा नलगी सीधै ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ,’ शाक्यले भने ।  यसका लागि आवश्यक प्रबन्ध गरिसकेको उनको भनाइ छ । 

सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत् न्यु खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिनेछ । सबस्टेसन १५ दिनभित्रमा सञ्जालनमा आउनेछ ।आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पहुँच सडक, पुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष ०६२/६३मा र मुख्य संरचनाहरूको निर्माण आर्थिक वर्ष ०६७/६८मा सुरु भएको थियो ।

०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्प एवं बाढीपहिरोले पुर्‍याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो । 

लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रो मेकानिकल उपकरणहरू उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो । 

भूकम्पले गर्दा झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनुपरेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रूपमा विश्वभर फैलिएको कोभिड– १९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो । लट २ को  ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रो मेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो ।

आयोजनाले चरिकोट (दोलखा)–सिँगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको छ । आयोजनाले सिँगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र सातवटा पक्की पुल बनाएको छ । 
 

सुझावित समाचार