पहिरोले पर्वत–बाग्लुङ सडकखण्ड अवरुद्ध

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बाग्लुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका– ८ चुवाभिरमा निरन्तर पहिरो झरेका कारण गए रातिदेखि नै सडक अवरुद्ध बनेको हो । 

उक्त स्थानमा सडकभन्दा करिब ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरुद्ध बनेको छ । सडकको दुवैतर्फबाट हटाउने प्रयास भइरहे पनि सडक खुल्न मंगलबार बेलुकासम्म लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए । उक्त स्थानमा विगतदेखि नै सामान्य वर्षा हुनेबित्तिकै पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध बनेपछि विभिन्न मालबाहक ढुवानीका सवारीसाधनसँगै एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ । कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका स्थानबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामी प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारण पनि मर्कामा परेका छन् । 

सडक अवरुद्ध हुँदा साबिक धौलागिरिका बाग्लुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारीसाधन पर्वतको नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौंका लागि छुटेका सवारीसाधन पनि गन्तव्यमा पुग्न सकेका छैनन् । सडकमा पहिरो आएपछि विद्युत् पोल भाँचिँदा सोमबार रातिदेखि अवरुद्ध बनेको धौलागिरिका बाग्लुङ, म्याग्दी र पर्वतमा वितरण गरिएको विद्युत् लाइनसमेत ठूलो प्रयासपछि मंगलबार बिहान ११ बजे मात्रै सञ्चालन भएको छ । 
 

सुझावित समाचार