तालको सिरानमा रहेको सेदीस्थित डाँडा खारेर १२ तले अपार्टमेन्ट निर्माण गर्दै बी एन्ड बी हाउजिङ, सिमसार क्षेत्र पुरेर घडेरी या अन्य संरचना निर्माणका लागि जमिन तयार पार्ने काम तीव्र
फेवातालको सिरानमा यतिवेला सिमसार क्षेत्र पुर्ने प्रतिस्पर्धा चलेको छ । कोरोना संक्रमणको दोस्रो लहरका कारण नागरिक घरमै थुनिएका वेला सिमसार पुर्नेहरू सक्रिय भएका छन् । तालको सिरानतर्फ सेदीदेखि पामे बजारसम्म सडकको दायाँबायाँतर्फ सिमक्षेत्र यतिवेला पुर्न प्रतिस्पर्धा चलेको पोखरा महानगरपालिका–१८ का अध्यक्ष रणबहादुर थापाले जानकारी दिए । ‘माफियाको चलखेल धेरै भयो । महानगरपालिकालाई रोक्न भन्दै आग्रह गरेर पत्र पठाएको पठायै छु । तर, मध्यबर्खामा पनि सिमसार क्षेत्र पुर्ने काम रोक्न सकिएन । यसरी पुरिएको माटो बगेर जाने तालमै हो,’ उनले भने ।
सेदीस्थित डाँडा खारेर बी एन्ड बी हाउजिङले १२ तले अपार्टमेन्ट निर्माण गर्दै छ । हाउजिङका सञ्चालक विमल बस्याल हुन् । सोही डाँडा खार्दा निस्केको माटो अहिले तालको सिमसार क्षेत्रको धापमा लगेर पुरिँदै छ । बर्खाको वेलामा यसरी डोजर नचलाउन र तालको माथिल्लो तटमा माटो लैजाने काम रोक्न महानगरलाई लेखी पठाएको वडाध्यक्ष थापा बताउँछन् । तर, महानगरपालिकाले नै यस विषयमा अनदेखा गरेको छ । सेदीमै वाराही ग्रुपले बनाउन लागेको रिसोर्टका लागि पनि खनिएको माटोले सिमसार क्षेत्र पुर्ने गरेको छ ।
पामेका स्थानीय विष्णुप्रसाद तिमल्सिनाले छिमेकमा सबैले ढाविलो जमिन पुरेकाले आफूले पनि खेत पुर्न बाध्य भएको बताए । मंगलबार आफ्नो खेत पुरिरहेको स्थानमा भेटिएका उनले भने, ‘यहाँ सबैले तालको संरक्षणको कुरा गर्छन् । रामसार, सिमसार के के भन्छन् । यसलाई जोगाउनुपर्छ भन्छन् । तर, सक्नेले मन लागेको गरिरहेका छन् । अरू सबैले धाप क्षेत्र पुरेपछि म पनि बाध्य भएँ ।’
पोखरा–२४ पामे फाँटमा रहेको उक्त स्थानमा आफूले १२ रोपनी जमिन पुर्दै गरेको जानकारी दिए । उनका अनुसार उनको खेत पुर्न एक हजार दुई सय ट्रिप टिपर माटो चाहिन्छ । अहिलेसम्म आठ सय टिपर माटो ल्याएर पुरिसकेको उनले जानकारी दिए ।
यसरी सिमसार क्षेत्र पुर्ने उनी मात्र होइनन् । उनले जस्तै अहिले ढाविलो जमिन पुरेर घडेरी या अन्य संरचना निर्माणका लागि जमिन तयार पार्ने धेरै छन् । व्यवसायीहरू कुलबहादुर श्रेष्ठ र युवराज खतिवडालगायतले सिमक्षेत्र धमाधम पुर्ने गरे पनि स्थानीय तह, स्थानीय प्रशासनले रोक्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष ओम सुवेदीले आफूले सिमसार क्षेत्र पुर्न नदिन गरेका सबै प्रयास विफल भएको प्रतिक्रिया दिए । महानगरका मेयर मानबहादुर जिसीलाई समेत लगेर कैयौँपटक आफूहरूले टिपरको चाबी थुतेको उनको भनाइ छ । ‘हामीलाई छल्ने र सिमसार क्षेत्र पुर्ने काम भइरहेको छ । वडाबाट अहिलेसम्म सिमसार क्षेत्र पुर्न कसैलाई अनुमति दिएका छैनौँ,’ उनले भने ।

सर्वोच्चको आदेश कार्यान्वयन नहुँदा समस्या
१६ वैशाख ०७५ मा सर्वाेच्च अदालतले दिएको फैसलाको पूर्ण पाठअनुरूप आदेश प्राप्त भएको ६ महिनाभित्र फेवातालको चार किल्ला सीमांकन गरिसक्नुपर्ने हो । गत २ फागुनमा तालको सीमांकनको काम सम्पन्न भएर मन्त्रिपरिषद्मा सिफारिस भएपछि ११ फागुनमा मन्त्रिपरिषद्ले तालको नयाँ सीमांकन गरेको हो । फेवातालको नयाँ क्षेत्रफल ११ हजार २५५ रोपनी (५.७२ वर्ग किलोमिटर) निर्धारण भएको छ । अहिले फेवातालको सीमांकनभित्र रहेका जग्गाको कित्ता अध्ययन गर्ने काम भइरहेको फेवातालको चार किल्ला निर्धारण तथा सीमांकन समितिका संयोजक पुण्य पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म झन्डै १२ सय कित्ता जमिनको छानबिन गर्ने काम भएको छ । फेवातालको सिमसार क्षेत्र जोगाउने काम संघ सरकार र प्रदेश सरकारको रहेको उनले बताए ।
तालको सीमांकन र नक्सांकन नभए पनि पहिलेको मापदण्ड अहिले पनि रहेको र त्यसअनुरूपको संरक्षणमा महानगरपालिका लाग्नुपर्ने उनले बताए । पछिल्लो समय ताल किनारमा अतिक्रमण बढेको उनले स्वीकार गरे । यसलाई रोक्न आफूले पोखरा महानगरका मेयर मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई आग्रह गरेको उनले जानकारी दिए । ‘तालको सीमांकनको काम भइसकेको छ । यसको ६५ मिटर मापदण्ड पछि तोकिन्छ । अहिले नै फेवातालको एक खालको मापदण्ड छ । त्यसै आधारमा महानगर र प्रशासनले संरक्षण गर्नुका साथै थप अतिक्रमण गर्न दिन भएन,’ उनले भने ।
महानगरले ताल संरक्षण गर्ने कुरामा निरीहपन देखाएको बताउँछन् पोखरेली नागरिक अभियन्ता रामबहादुर पौडेल । उनले आफूहरूले यस विषयमा पोखरा महानगरलाई ध्यानाकर्षण गराएको जानकारी दिए । ‘सर्वोच्च अदालतले ताल संरक्षणका लागि दिएको आदेशअनुरूप काम नहुनुको परिणाम माफियाहरू सल्बलाएका छन् । ताल संरक्षण गर्ने विषयमा महानगर निरीह देखियो । यतिका सिमसार क्षेत्र पुर्ने काम हुँदा महानगरले रोक्न सक्नुपर्दथ्यो । हामीले ध्यानाकर्षण गराएका गरायै छौँ,’ उनले भने । खपौंदी क्षेत्रमा ताल किनारामा बनाइएको संरचनालाई पोखरा महानगरले डोजर प्रयोग गरेर भत्काउने प्रयास गरेको थियो । तर, पुगेर फर्केपछि ताल अतिक्रमण गर्नेहरू र सिमसार क्षेत्र पुर्नेहरूलाई हौसला बढेको छ । कतिपय स्थानीय छिमेकीले ताल पुरेपछि आफ्नो क्षतिबाट जोगाउन पुर्न बाध्य भएको बताउँछन् ।
वातावरणविद् भन्छन्– सिमसार क्षेत्र व्यक्तिकै भए पनि पुर्न पाइँदैन
विश्वभर रहेका ताल तलैयालगायतका सिमसार क्षेत्रहरूलाई संरक्षण गर्ने उद्देश्यका साथ सन् १९७१ मा आएको ‘कन्भेन्सन अन वेटल्यान्ड अफ इन्टरनेसनल इम्पोर्टेन्स स्पेसल्ली एज वाटरफल हेविटेट’को धारा १ मा सिमसार क्षेत्रलाई दलदल, धाप, प्रांगारिक माटो भएको जमिन वा पानीसहितको प्राकृतिक वा कृत्रिम, स्थायी वा अस्थायी, अलवण वा लवण, क्षारयुक्त र ६ मिटरभन्दा कम गहिराइको निम्न छालयुक्त क्षेत्रको रूपमा परिभाषित गरेको छ ।
सर्वोच्च अदालतले १६ वैशाख ०७५ मा दिएको फैसलाको पूर्णपाठको बुँदा नम्बर ३ मा ‘फेवातालको सम्बन्धमा गरिएका पूर्वअध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रअन्तर्गत जलक्षेत्र, दलदले सिमलगायत केही पर्ती जमिनसमेत रहेको देखाइएकाले रामसार महासन्धिको उक्त परिभाषाअनुसार फेवाताल र यस वरिपरिको क्षेत्र सिमसार क्षेत्रअन्तर्गतसमेत पर्ने कुरामा पनि विवाद भएन । यस्ता सिमसारयुक्त तालहरूको वातावरणीय, आर्थिक, धार्मिक, सांस्कृतिकसमेतका बहुआयामिक महत्व रहेको हुन्छ...’ उल्लेख छ । यही आदेशलाई आधार मान्ने हो भने पनि यसरी निजी जमिन नै भए पनि दलदले जमिन पुर्न नपाइने अधिवक्ता खगेन्द्र अधिकारी बताउँछन् ।
वातावरणविद् डा.अनिल सुवेदी यसरी तालको सिमसार क्षेत्रमा पर्ने धाप पुर्नुलाई सरासर गलत भन्छन् । सिमसार क्षेत्रको रणनीतिक योजनामै यस्तो जमिनको उपयोगका सन्दर्भमा उल्लेख गरेको उनले बताए । ‘सिमसार क्षेत्रलाई असर पर्ने क्रियाकलाप गर्न नै हुँदैन । फेवाताल रामसार सूचीमा सूचीकृत ताल हो । यसको सिमसार क्षेत्र मेरो व्यक्तिगत जमिन हो जेसुकै गर्छु मेरो मर्जी भन्न नै पाइँदैन । यससम्बन्धी प्रावधानमै के गर्न पाइने नपाइने भन्ने उल्लेख छ,’ उनले भने । कास्कीका फेवा, बेगनास, रूपा, दिपाङ, खास्टे, गुदे, न्युरेनी, मैदी र कमलपोखरी ताल सन् २०१६ मा रामसार सूचीमा सूचीकृत भएका हुन् ।
सिमसार क्षेत्र नपुर्न धेरैपटक निर्देशन दिएको छु, रोकिएको छैन : मानबहादुर जिसी मेयर, पोखरा महानगरपालिका

पोखरा महानगरका मेयर मानबहादुर जिसीले सिमसार क्षेत्र पुरिएको जानकारी पाएपछि आफूले पटकपटक त्यसलाई रोक्न निर्देशन दिएको बताए । मंगलबार पनि आफूले रोक्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिए । ‘जति नै भने पनि रोकिएको छैन । राति १२ बजे पनि सिमसार पुर्ने गरेको पाइएको छ । मैले निर्देशन दिएको छु, रोकिएको हुनुपर्छ । तपाईंले एकपटक बुझ्नुहोस् । नभए बुझेर फेरि निर्देशन दिन्छु,’ उनले भने ।