मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण
मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको वैठकमा सहभागि प्रदेश सांसद ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । नेकपा एमालको विवाद संसद्मा पनि देखिन थालेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् । उनले विश्वासको मतको प्रयोजनका लागि संसद् सचिवालयमा आइतबार पत्र दर्ता गराएका थिए । 

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको एमाले संसदीय दलको  प्रमुख सचेतक दुर्गाकुमारी कामीले जानकारी दिइन्  ।

यसैगरी, मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । विश्वासको मत पाउने अवस्था आएमा कांग्रेस तटस्थ बस्ने निर्णय भएको कांग्रेस संसदीय दलका सचेतक टेकबहादुर रैकाले जानकारी दिए ।

हाल ५२ सदस्य रहेको प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको मत आवश्यक पर्छ । एमालेका २४ सांसदमध्ये आफ्नो पक्षमा कम्तीमा १५ जना रहेको खनाल–नेपाल पक्षको दाबी छ । माओवादीका १३ सांसद छन् । 

माओवादी संसदीय दलका सचेतक अक्कल रावलले एमाले संसदीय दलले सरकारलाई समर्थन कायम राख्ने निर्णय गरिसकेकाले मुख्यमन्त्रीले विश्वासको मत पाउने दाबी गरे । केही समयपछि प्रदेश सभाको बैठक सुरु हुँदै छ । बैठकमा विश्वासको मतबारेमा छलफल हुनेछ । 

सुझावित समाचार