प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ गर्न संवैधानिक इजलास गठन

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमा सुरु

शुक्रबार, १४ जेठ, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ गर्न शुक्रबार संवैधानिक इजलास ​गठन गरेका छन्  ।

इजलासमा प्रधानन्यायाधीशको नेतृत्वमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा परेका ३० वटै रिटउपर आज संवैधानिक इजलासमार्फत सुनुवाइ सुरु भएकाे छ  । 

यसअघि ५ पुसमा भएको विघटनको मुद्दामा बेञ्च तोक्दा वरिष्ठताक्रम र विज्ञता दुवै ख्याल नगरी आफ्नोनजिकका न्यायाधीश राखिएको भन्दै प्रधानन्यायाधीशको चर्को आलोचना भएको थियो । पछिल्लोपटक वरिष्ठतम न्यायाधीशलाई पनि उनले इजलासमा समावेश गराएका थिएनन् । 

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा महान्यायाधिवक्ता भएका हरिकृष्ण कार्कीलाई इजलासमा राखेको भन्दै अधिवक्ताहरूले प्रश्न उठाएपछि उनको स्थानमा सपना प्रधान मल्ललाई राखिएको थियो । 

पछिल्लोपटकका न्यायाधीशमध्ये तेजबहादुर केसी यसपटक पनि इजलासमा परेका छन् । ‘यसपटकको इजलासमा अरू त ठिकै हो, केसी र श्रेष्ठचाहिँ धेरै जुनियर राखिएको छ,’ एक निवेदकले भने । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यसविरुद्ध सर्वोच्चमा ३० रिट परेका छन् । जसमध्ये बिहीबार साधारण इजलासमा पेस भएका १९ रिटमाथि सुनुवाइ भएको थियो । 

ती रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गर्दै प्रधानन्यायाधीश जबराको इजलासले तिनलाई पनि संवैधानिक इजलासमार्फत नै टुंग्याउने आदेश दिएका थिए ।

सुझावित समाचार