जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूहरू नयाँ सरकार गठनको दौडमा नलाग्ने बताएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफूपक्षीय सांसदहरूको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष महन्थ ठाकुरले आफूहरू विगतदेखि तटस्थ बस्दै आएको र अहिलेको अवस्था पनि त्यही रहेको बताए ।
आफूहरू प्रधानमन्त्री केपी ओली र सरकारको विरोधमा नरहेको पनि स्पष्ट पारे । उनले भने, ‘हामी त सुरुदेखि नै तटस्थ बस्दै आएका छौँ । अहिले पनि हाम्रो अवस्था त्यही छ । तर, हामी उनको विरोधमा छैनौँ । हाम्रो फ्रेन्ड्ली सम्बन्ध सबै पार्टीसँग छ । प्रधानमन्त्रीसँग पनि छ । प्रधानमन्त्रीको सरकारप्रति पनि त्यही हो ।’
ठाकुरले संविधान संशोधन गर्नका लागि पाँच सदस्यीय कार्यदल बनाइएको र जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको पनि जानकारी गराए । जसपाका वरिष्ठ नेता तथा संसदीय दलका नेता राजेन्द्र महतोले आफूहरू पद र कुर्सीका लागि नलागेको बताए । जसपा आफ्नो माग र मुद्दाको पक्षमा मात्रै रहेको उनले बताए ।
उनले भने, ‘पदका लागि/कुर्सीका लागि हामी कहिल्यै पनि जनताको म्यान्डेडलाई कुनै प्रकारको त्यस्तो अवसर पदका लागि प्रयोग गर्ने होइन । माग र मुद्दा, जनताको सवाल, अधिकार, पहिचान, सुशासन र समृद्धि जुन सवालका लागि यो पार्टी गठन भएको छ त्यसमै केन्द्रित भएर हामी यो शक्तिको प्रयोग गर्छौँ ।’