माथिल्लो बिन्दुको रेकर्ड बनाएको नेप्सेमा सामान्य करेक्सन

बिहिबार, ६ जेठ, २०७८
डिजिटल संस्करण

कारोबार रकममा भने नयाँ कीर्तिमान

सर्वाधिक रेकर्ड बनाएको नेप्से परिसूचकमा सामान्य करेक्सन हुन पुुगेको छ । आइतबारबाट दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेमा बुधबार ब्रेक लागेको हो ।नेप्से सूचकमा करेक्सन हुने क्रमसँगै लगानीकर्ताले नाफा बुक गर्ने होड चल्दा कारोबार रकम भने नयाँ कीर्तिमान बनाउन सफल भएको छ । नेप्सेमा एक उच्च बिन्दुु पार गरिसकेपछि केही करेक्सन हुनलाई सेयर बजारमा सामान्य मानिन्छ । लगानीकर्ताहरू कारोबार र ट्रान्जेक्सनका गति पनि कस्तो छ भनेर विश्लेषण गर्ने भएकाले बजार सकारात्मक रहेको र करेक्सनले बजारलाई दीर्घकालीन बनाउन सहयोग गर्ने लगानीकर्ताहरू बताउँछन् ।

मंगलबार ३४ अंकले बढेर २ हजार ७ सय ९३ बिन्दुमा पुगेको नेप्से परिसूचक बुुधबार भने १३ अंकले घटेर २ हजार ७ सय ८० दशमलव ८१ बिन्दुमा आइपुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १ अंकले घटेर ४ सय ९६ बिन्दुमा आइपुुगेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १४ कम्पनीको २ करोड ५१ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । यो हालसम्मकै उच्च कारोबार हो । 

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा नेसनल लाइफ इन्स्योरेन्सको ४५ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावर कम्पनीको ३० करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ८ समूहको सूचक नकारात्मक रहेका छन् भने ५ समूहको सूचक सकारात्मक रहेका छन् । यस दिन हाइड्रोपावर, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनीका लगानीकर्ताले करिब २ प्रतिशतले घाटा व्यहोरेका छन् । ङादी ग्रुप पावर लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत घाटा व्यहोरेका छन् । 

नाफा कमाउने कम्पनीहरूमा समता घरेलुु लघुुवित्त, रुरु जलविद्युत्, गोर्खाज फाइनान्स, नेपाल फाइनान्सका लगानीकर्ता रहेका छन् । यी कम्पनीको सकारात्मक सर्किट मूल्यमा कारोबार भएको हो । 

See More On

सुझावित समाचार