प्रधानमन्त्री केपी ओलीले विश्वासको मतका लागि संसद बैठकमा प्रस्ताव प्रस्तुत गरेका छन् । सोमबार सुरु प्रतिनिधिसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा ओलीले प्रस्ताव पेस गरेका हुन् ।
ओलीले आफूलाई संसदले पुनः प्रधानमन्त्रीमा राख्नेमा ढुक्क रहेको बताए । उनले भने, ‘माननीय ज्युहरुले हुन्न भन्ने पक्षमा त कसरी सही गर्न सक्नुहुन्छ सभामुख महोदय कसरी सक्नुहुन्छ ? अलिक दिन भेट नहुँदा, प्रधानमन्त्रीले फोन पनि गर्दैन भन्ने असन्तुष्टि पनि थियो कि त्यो पनि छाडिदिनुस् । म काममै लागेर नभ्याएको हो । मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन । यस सदनले मलाई निर्वाचित गरेको हो । यस सदनको बलले ३ वर्षभन्दा बढी म प्रधानमन्त्रीको हैसियतमा यस रोष्ट्रममा उभिएको छु । यही सदनको बलले फेरी पनि रहन्छु भन्ने विश्वास छ । सदनको विवेकमाथि म पूर्ण रुपमा भरोसा गर्छु ।’
सरकारलाई विश्वासको मत दिनु नपर्ने कुनै कारण नभएको ओलीले दाबी गरे । दलगत आबद्धताभन्दा माथि उठेर विश्वासको मत दिन ओलीले आह्वान गरे । सरकारले देश र जनताको लागि धेरै काम गरेको ओलीको दाबी छ । काम आफैँ बोल्ने भन्दै ओलीले धेरै भनिरहन नपर्नेसमेत बताए ।
राष्ट्रियताको सवालमा स्पष्ट ढंगले अघि बढेको सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको उनको दाबी छ ।