१ सय ४१ अंकसम्म घटेको बजारले १ सय ४ पुनः जोड्यो
गत साता नेप्से परिसूचकमा उच्च उतारचढाव देखियो । एकै सातामा नेप्से १ सयभन्दा धेरैले घटबढ हुन पुग्यो । साताको सुरुका दुई दिन घटेको बजारले २ हजार ५ सय ६ छोएर घटबढसहित अन्तिम दिन २ हजार ६ सयको तह पार गर्यो । घट्दा १ सय ४१ बिन्दुसम्म गुमाएको नेप्सेले बढ्दो क्रममा भने १ सय ४ अंक जोड्न सफल भयो ।
बजारलाई बढ्न नसकेको कर्जा र निक्षेपको ब्याजदर तथा लगानी अभावले सहयोग पुगिरहेको छ । कम्पनीहरूले वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । जसअनुसार वाणिज्य बैंकहरूको औसतमा ११ प्रतिशतबराबर लाभांश क्षमता देखिएको छ । नबिल बैंकको सबैभन्दा धेरै २८ प्रतिशत, प्रभु बैंकको १४ प्रतिशत, प्राइम बैंकको १३ दशमलव ६८ प्रतिशत र एनएमबि बैंकको १३ दशमलव ९३ प्रतिशतसम्म क्षमता देखिएको छ ।
वितरणयोग्य नाफासमेत प्रकाशित गरेका ११ विकास बैंकले औसतमा १० दशमलव ५२ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ । मुक्तिनाथ, कामना सेवा, एक्सेल र लुम्बिनी विकास बैंकले सबैभन्दा धेरै लाभांश दिन सक्ने देखिएको हो । यिनीहरूको क्षमता क्रमशः १७ प्रतिशत, १४ प्रतिशत, ११ दशमलव ११ र ११ दशमलव ३७ प्रतिशत छ ।
अघिल्लो साताको तुलनामा कुल कारोबार रकम पनि करिब १७ प्रतिशतले घटेको छ । अघिल्लो साता ३२ अर्ब रुपैयाँको कारोबार भएकोमा गत साता २७ अर्ब रुपैयाँको कारोबार भएको हो । दैनिक औसत कारोबार रकम पनि यही दरमा घटेको छ ।
गत साता चार समूहको परिसूचक मात्र बढेको छ । जलविद्युत्, उत्पादनमूलक समूह, व्यापारमूलक समूह र ‘अन्य’ समूहका परिसूचक मात्र बढेका हुन् र बाँकी सबै समूहगत परिसूचक भने घटेका छन् । माथिल्लो तामाकोसीको सबैभन्दा धेरै १ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । ज्योति लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ३६ हजारपटक कारोबार भएको छ भने सबैभन्दा धेरै नेपाल क्रेडिट एन्ड कमर्स बैंकको सबैभन्दा धेरै २८ लाख २३ हजार कित्ता सेयर किनबेच भएको हो ।
गत साता १ करोड ७३ लाख सेयर बजारमा थपिएको छ । सिंगटी हाइड्रोको प्राथमिक सेयर, मल्टिपर्पस फाइनान्सको हकप्रद, गुडविल फाइनान्स र समता लघुवित्तको बोनस सेयर सूचीकरण भएको छ ।
प्राविधिक विश्लेषण
नेप्सेको मैनबत्ती चित्रले अन्तिम दिन सानो शरीरसहितको सेतो (हरियो) मैनबत्ती आकृति बनाएको छ । यसले बजार घट्ने क्रममा ब्रेक लागेको संकेत गर्छ । तर, यो दरिलो संकेत होइन । आगामी दिनको कारोबार हेरेर निर्णय लिनु सही हुन्छ ।
नेप्सेको २१ दिने रेखाले ७ दिने रेखालाई मुनि पारेको छ । यसले बजारमा डेथ क्रस ओभर भएको संकेत गरिरहेको छ । यसअनुसार बजार बियरिस प्रवृत्तिमा जानेछ । यो प्रवृत्ति छिटो–छिटोसमेत देखिने र कुनै समय छोटो अवधिलाई समेत देखिने भएकाले लगानीकर्ताले पर्ख र हेरको रणनीति अपनाउनु सही हुन्छ ।
१४ दिने आरएसआई सूचकले भने बजारमा माग र आपूर्ति सन्तुलित अवस्थामा फर्किएको देखाउँछ । यो सूचक गत सोमबार २८ स्केलसम्म पुगेको थियो । हाल भने यो सूचक ४३ स्केलमा छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ ।
पिभट विश्लेषणले भने सेयर बजारमा आगामी १ साता २ हजार ६ सय ४५ मा पहिलो लक्ष्य रहेको र सो बिन्दुमा प्रतिरोध पाएर घटेमा २ हजार ५ सय ४१ मा पहिलो टेवा पाएर फर्कन सक्ने संकेत गर्छ ।