काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको समयमा सर्वसाधारणलाई सहज होस् भनी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । त्यसका लागि महानगरले संयुक्त एम्बुलेन्सचालक संघसँग सम्झौता गरेको छ । सम्झौताबमोजिम सञ्चालित एम्बुलेन्सका चालकसँग सीधा सम्पर्क गरेर जसले पनि सेवा लिन सक्नेछन् ।
महानगरले सञ्चालन गरेको हटलाइन ११८० वा एम्बुलेन्सचालकको सीधा सम्पर्कबाट सेवा उपलब्ध हुनेछ । यसका लागि बिहीबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा महानगरका तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संयुक्त एम्बुलेन्सचालक संघका तर्फबाट अध्यक्ष गोवद्र्धन सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम राष्ट्रिय सभा गृह, ट्रलीबस परिसर, वडा ३ कार्यालयपरिसर महाराजगन्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालयपरिसर मित्रपार्कमा दुई/दुईवटा एम्बुलेन्स २४सै घन्टा तैनाथ हुनेछन् । यी एम्बुलेन्सहरू कोरोनाको संक्रमण नभएका बिरामीका लागि हुन् । कोरोना संक्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशका समयमा बिरामी अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर महानगरले यसप्रकारको सुविधा उपलब्ध गराएको हो ।
महानगरका प्रमुख शाक्यले जतिसुकै प्रतिकूल अवस्था भए पनि कसैलाई समस्या नआओस् भनेर महानगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको जानकारी दिए । ‘कहिलेकाहीँ बिरामीलाई अस्पताल पुर्याउन ढिला भएका कारण बचाउन नसकिएको गुनासो आउने गर्छ । कहिलेकाहीँ पाँच मिनेट मात्र छिटो ल्याउन सकिएको भए बचाउन सकिन्थ्यो भन्ने घटना सुनिन्छ । त्यसैले महानगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका हौँ ।’
घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा उपलब्ध छ । यो सेवा महानगरको भौगोलिक सिमानाको दुई किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो । महानगरका सबै क्षेत्रका नागरिकले निःशुल्क एम्बुलेन्सको समान पहुँच पाऊन् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सहरका पाँच ठाउँमा राखिनेछन् । ‘यो सेवा पूर्ण निःशुल्क हो । यसमा मोलाहिजा हुँदैन । नाइँनास्ती हुँदैन,’ सहरी स्वास्थ्य महाशाखा प्रमुख रामप्रसाद पौडेलले भने ।