न्यायाधीशद्वय सुवेदी र चुँडालद्वारा पद तथा गोपनीयताको शपथ

बुधबार, ८ बैशाख, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नवनियुक्त न्यायाधीशहरू सुवेदी र चुँडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । 

 न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानुनप्रति पूर्ण निष्ठावान रही सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादाविपरीत नहुने गरी इमानदारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा शपथ लिएका छन् ।  न्यायपरिषद्वारा प्रस्तावित दुवैजनाको नाम संसदीय सुनुवाइ समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीश पदमा नियुक्त गरेकी थिइन् । 

सर्वोच्च अदालतका न्यायाधीशहरूको शपथग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ । तर, यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको उपस्थितिविना प्रधानन्यायाधीश जबराले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

See More On

सुझावित समाचार