रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– १० गारावाङमा आगो निभाउने क्रममा एक महिलाको जलेर मृत्यु भएको छ । जंगलमा लागेको आगो गाउँतिर पसेपछि उक्त आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनी दमाईंको मृत्यु भएको हो ।
आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै मृत्यु भएको वडा सदस्य तिलक खड्काले जानकारी दिए । गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनीलाई आगोले भेटेको थियो । त्यस्तैऽ स्थानीय गगन जैसीको गोठ जलेर नष्ट भएको छ ।
बिहीबार वडाको राजिखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जनभन्दा बढी जंगलमा फैलिएको वडा सदस्य खड्काले बताए । आगो गाउँतिर फैलिएपछि स्थानीय त्रसित बनेका छन् ।
आगो छेकेर गाउँ बचाउने प्रयासमा स्थानीय जुटेका छन् । तर, आगो नियन्त्रणमा आउन सकेको छैन । स्थानीय सुविखाली सामुदायिक वन, चमेरेपातल सामुदायिक वन, चक्कुलाउने कबुलियति वन, तेस्रापाखा सामुदायिक वन, देउरालीचुरा राष्ट्रिय वन र वयाल्ने राष्ट्रिय वनमा आगो लागिरहेको छ । त्यस्तै सानीभेरी गाउँपालिका– ३ को ज्यामिरेमा रहेको वनमा पनि आगलागी भइरहेको बताइएको छ ।