जिल्लालाई जोड्ने मुख्य सडकको साँफे–मार्तडी खण्ड नौ महिनादेखि अवरुद्ध छ । बुढीगंगा नगरपालिका– १ अम्कोटस्थित साँफे–मार्तडी सडकखण्ड गत २५ साउनमा पहिरोले बगाएपछि अवरुद्ध छ ।
यो खण्डलाई पहिरोले दुई वर्षदेखि नै क्षति पुराउँदै आए पनि गत साउनको पहिरोले भने पूर्ण क्षति गरेको छ । गत २५ साउनको राति आएको बुढीगंगा नदीको बाढीले भने पूरै सडक बगाएको स्थानीयको भनाइ छ । बाढीले तीन किलोमिटर सडक भत्काएको छ । जसका कारण अम्कोटदेखि मार्तडीसम्म कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् ।
वर्षायाम सकिएसँगै केही सवारीसाधनले जोखिम मोल्दै वैकल्पिक बाटोबाट यात्रा गरे पनि हिलो र धुँलोका कारण निकै सास्ती हुने गरेको स्थानीय निमेन्द्र शाहीले बताए । अम्कोटमा पहिरोले सडक भत्काएको हुँदा सडकभन्दा केही माथि अस्थायी सडक निर्माण भएको छ । तर, यो बाटो निकै जोखिमपूर्ण रहेको चालक लखन चौधरीले बताए । चौधरीले भने, ‘पानी परेको दिनमा माथिबाट पहिरो बग्न थाल्छ । त्यसपछि यो सडक पनि पूर्ण रूपमा बन्द हुन्छ ।’
कमजोर वैकल्पिक उपाय
बाजुरा, हुम्ला, जुम्ला, मुगुलगायत विभिन्न जिल्ला जोड्ने मुख्य सडकखण्डको अम्कोट पहिरोबाट सडक कसरी सञ्चालन गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय, स्थानीय, प्रदेश, केन्द्र सरकारले अहिलेसम्म वैकल्पिक उपाय कुनै न खोजेको स्थानीय काशीराम पाध्यायले बताए ।
उनले भने, ‘हिउँद लागेपछि पहिरोमै सानो कच्ची सडक निर्माण गरी सवारीसाधन सञ्चालन गरिएको छ । तर, पानी परेको दिन बन्द हुने गर्छ ।’ साँफे मार्तडी सडकखण्ड पहिरोले अवरुद्ध हुँदा लामा तथा छोटा दूरीका सवारीसाधन सञ्चलन हुन नसक्दा बाजुरालगायत छिम्मेकी जिल्लावासीले निकै दुःख भोगिरहेका छन् ।
सडक डिभिजन कार्यालय अछामका प्रमुख ललित खनालले भत्किएको सडक दिगो हुने गरी बनाउन सडक विभागमा अनुरोध गरेको बताए । यसका लागि भौगर्भिक अध्ययन गर्न आग्रह गरेको उनको भनाइ छ । खनालले भने, ‘सरकारले रूपान्तरणकारी योजना बनाए मात्रै एक वर्षभित्र अम्कोटको पहिरो रोकथाम र सवारी सञ्चालन गर्न सकिन्छ ।’ यसका लागि विज्ञ टोली आएर माटो परीक्षण गर्नुपर्ने उनको भनाइ छ । यस विषयमा सडक विभागको केन्द्रीय कार्यालयलगायत निकायमा पटक–पटक जानकारी गराइसकेको उनले बताए ।