प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति शोकप्रस्ताव

बुधबार, २६ फागुन, २०७७
डिजिटल संस्करण

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले प्रतिनिधिसभा सदस्य स्वर्गीय  सूर्यबहादुर केसीको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।

बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको महिला तथा सामाजिक समितिको बैठकले समितिको सदस्यको रूपमा रहेका प्रतिनिधिसभा सदस्य स्वर्गीय  सूर्यबहादुर केसीको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । समितिको बैठकले सर्वसम्मत रूपमा शोकप्रस्ताव पारित गरेको सभापति निरुदेवी पालले बताइन् । 

समितिको उक्त बैठकमा स्वर्गीय केसीको छोरा र स्वकिय सचिवको समेत उपस्थिति रहेको थियो । कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका– १४ स्थायी निवासी स्व. केसीको ६३ वर्षको उमेरमा ०७७ साल कात्तिक १७ गते निधन भएको थियो ।

उनी नेपाली कांग्रेस पार्टीबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए भने महिला तथा सामाजिक समितिको सदस्य थिए । प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै संघीय संसद्का विभिन्न समितिहरूले आफ्ना कामहरू सुरु गरिसकेका छन् ।
 

सुझावित समाचार