मल खरिदका लागि पहल थालेको सात महिनापछि बंगलादेशबाट युरिया मल भित्रिएको छ । तत्कालै आयात गर्ने उद्देश्यका साथ सरकारले ५० हजार टन युरिया बंगलादेशबाट ल्याउन १६ माघबाट औपचारिक पहल थालेको थियो । तर, सात महिनापछि मंगलबार पहिलो खेपमा २५ सय टन युरिया वीरगन्ज नाकाबाट भित्रिन लागेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।
‘बंगलादेशबाट आयात सम्झौता भएको ५० हजार टन युरियामध्ये पहिलो खेप रेलको र्याकमा आएको छ,’ भण्डारीले भने । ३५ टन युरिया भने ट्रकमा लोड भई विराटनगरका लागि कोलकाता पोर्टबाट चलान भइसकेको छ । केही दिनमै ट्रकहरू विराटनगर आइपुग्ने उनले बताए ।
कोलकाता पोर्टमा २२ हजार ५ सय टन युरिया बंगलादेशबाट पहिलो लटमा आएको थियो । सो युरिया विराटनगर, वीरगन्ज र भैरहवामा ल्याइपुर्याउने गरी जेनट्रेड कम्पनीलाई ढुवानीको ठेक्का दिइएको छ । यद्यपि, यसपटक वीरगन्ज नाकामा ल्याएको मल त्यहीँबाट भैरहवासम्म लैजानुपर्नेछ ।
यसअघिको टेन्डरमा भने सुनौली नाका हुँदै भैरहवासम्म ल्याउनुपर्ने सर्त थियो । ३ फागुनमा बंगलादेशले दिएको २२ हजार ५ सय टन युरिया पानीजहाजमार्फत कोलकाता पोर्टमा आइसकेको छ । तर, दोस्रो खेपबापतको मल भने बंगलादेशले दिन ढिलाइ गरिरहेको छ । दोस्रो खेपमा बंगलादेशले १० हजार टन पठाउनुपर्नेछ ।
पहिलो खेप दिएको १०–१२ दिनपछि दोस्रो खेप पठाउनुपर्ने सम्झौता छ । तर, २० दिनभन्दा बढी बितिसक्दा पनि बंगलादेशले दोस्रो खेप दिन सकेको छैन ।‘बंगलादेशमै मल कम उत्पादन हुन्छ । उनीहरूले पनि आयात गरिरहेका छन्,’ भण्डारीले भने, ‘आफैँ कम उत्पादन गर्ने भएकाले आन्तरिक समस्याका कारण हामीलाई समयमै दिन नसकेका हुन्जस्तो लाग्छ ।’ दोस्रो खेपको मल कर्नाफुली फर्टिलाइजर कम्पनी लिमिटेड ‘काफ्को’ले आफैँ बोरामा प्याकिङ गरी नेपाललाई उपलब्ध गराउनुपर्ने सम्झौता छ । अन्तिम खेप अर्थात् करिब २० हजार टन भने बल्कमा दिने र कोलकाता ल्याएर कृषि सामग्रीले बोरामा प्याक गरी नेपाल ल्याउनेछ ।
सात महिनादेखिको प्रयास
गत वर्ष धान लगाउने वेलामा किसानले युरियाको चरम अभाव खेपेपछि सरकारले छोटो प्रक्रियाबाट बंगलादेशी मल ल्याउने गृहकार्य अघि बढाएको थियो । तर, ग्लोबल टेन्डरमा जस्तै लामो समय लगाएर बंगलादेशबाट मल आयात भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तयारीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले १६ भदौमा बंगलादेशी समकक्षी सेख हसिनासँग टेलिफोन वार्ता गरी ५० हजार टन युरिया सापटी दिन आग्रह गरेका थिए । बंगलादेशी प्रधानमन्त्री हसिनाले सकारात्मक जवाफ दिएपछि मन्त्रिपरिषद्बाट तीनपटक १ असोज, २४ कात्तिक र १८ मंसिरमा निर्णय गरी बंगलादेशबाट मल ल्याउने सुनिश्चित गरिएको थियो ।
मन्त्रिपरिषद्को निर्णय र कृषि मन्त्रालयको निर्देशनपछि कृषि सामग्री कम्पनीका पदाधिकारी बंगलादेश पुगेर त्यहाँस्थित मल कारोबार गर्ने सरकारी कम्पनी बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसन (बिसिआइसी)सँग २ पुसमा मल आयातसम्बन्धी सम्झौता गरेका थिए । सम्झौतापछि २५ माघदेखि ९० दिनभित्र बंगलादेशबाट ५० हजार टन युरिया आयात गरिसक्ने सर्त राखिएको छ ।
डिएपी पनि बंगलादेशबाट आउँदै
ग्लोबल टेन्डरको डिएपीसमेत बंगलादेशबाट आयात भइरहेको छ । देश टे«डिङले बंगलादेशबाट २५ हजार टन डिएपी ल्याइरहेको भण्डारीले बताए । ‘बंगलादेशबाट ल्याउनुपर्ने २५ हजार टन डिएपीमध्ये अन्तिम खेप २५ सय टन मात्र आउन बाँकी छ । अरू सबै आइसक्यो,’ उनले भने ।
बाँकी रहको २५ सय टन डिएपी विराटनगर नाकाबाट आउनेछ । रेलको र्याकमा एकपटकमा २५ सय टन ढुवानी हुने गर्छ । त्यसैले अन्तिम खेपबापत २५ सय टन आउन लागेको हो ।पछिल्लो समय ग्लोबल टेन्डरबाट मल आउन थालेकाले मौज्दात हुन थालेको कृषि सामग्रीले जनाएको छ । कृषि सामग्रीको देशभरका गोदाममा हाल युरिया १० हजार टन, डिएपी ३५ हजार टन र पोटास ६ हजार ५ सय टन मौज्दात रहेको प्रबन्ध सञ्चालक भण्डारीले बताए ।