मंगलबार सेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक करिब ५ अर्बमाथि कारोबार भइरहेको सेयर बजारमा आइतबारदेखि नै कारोबार रकम घटिरहेको छ । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्था रहँदा कारोबार रकम घट्न पुगेको विश्लेषकहरू बताउँछन् ।
कारोबारसँगै सेयर बजार घटिरहेकाले बजार करेक्सनमा देखिन थालेको लगानीकर्ता बताउँछन् । केहीले नाफा बुक गर्दासमेत बजार घटेको एक लगानीकर्ताले बताए । ‘अघिल्लो ३४ हप्तामा लगानीकर्तालाई १ सय ३० प्रतिशतसम्म नाफा देखिएकाले अहिलेको २० देखि २५ प्रतिशतसम्मको करेक्सनलाई सामान्य मान्नुपर्छ,’ विश्लेषक तथा लगानीकर्ता विष्णु बस्यालले भने । बजारमा बिस्तारै केही अंकको सुधार हुन सक्ने सम्भावना देखिएको उनको दाबी छ ।
मंगलबारको नेप्से परिसूचक २३ दशमलव २२ अंक अर्थात् ० दशमलव ९३ प्रतिशत घटेर २ हजार ४ सय ६१ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सूचक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४७ अंकले घटेर ४ सय ४५ बिन्दुमा आएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये होटेल तथा पर्यटन, हाइड्रोपावर र सामूहिक लगानी कोष समूहगत परिसूचक बढेका छन् । बाँकी १० समूह घटेका छन् ।यस दिन सबैभन्दा धेरै गुमाउनेमा बैंक तथा वित्तीय संस्थाहरू रहेका छन् । बैंकिङ समूह १ दशमलव २१ प्रतिशतले घटेको छ भने होटेल तथा पर्यटन समूह २ दशमलव ९७ प्रतिशतले बढेको छ ।
मंगलबार सबैभन्दा धेरै गुमाउनेमा सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था रह्यो । कम्पनीको मूल्य ५ दशमलव १८ प्रतिशतले घटेको छ । त्यसैगरी, मिथिला लघुवित्त वित्तीय संस्था ४ दशमलव ६२ प्रतिशतले घटेको छ । यस वित्तीय संस्थाले २३ फागुनमा आफ्ना सेयरधनीलाई ०७६/७७ को नाफाबाट १२ प्रतिशत बनोस दिने घोषणा गरेको थियो । बोनस दिने घोषण गरे पनि सेयर कारोबारमा गिरावट आइरहेको छ । अघिल्लोपटक कम्पनीले १५ प्रतिशत बोनस दिएको थियो । पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट र ग्लोबल आइएमई बैंक पनि मूल्य उच्चदरमा घट्ने प्रमुख १० को सूचीमा परेका छन् ।
यस दिन सर्वाधिक नाफा पाउनेमा हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ता रहे । कम्पनीको मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो । त्यसैगरी, चन्द्रागिरि हिल्स र नेपाल हाइड्रो डेभलपर्सको पनि ९ प्रतिशतभन्दा बढी बढेर कारोबार बन्द भएको छ ।
२ सय १० किसिमका धितोपत्र र ऋणपत्रका ५२ हजारभन्दा धेरैपटक भएको कारोबारमा १ करोड २४ लाख कित्ता ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँमा किनबेच भएको छ । रकमका आधारमा मंगलबार सबैभन्दा धेरै कारोबार हुनेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ६५ करोड २५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको हो । त्यसैगरी, अपर तामाकोसी हाइड्रोपावर २९ करोड ६७ लाख रुपैयाँबराबरको कारोबार भएर दोस्रो स्थानमा छ ।