रानीखेत रोगले रित्तिए कुखुरा फार्म

शुक्रबार, १४ फागुन, २०७७
डिजिटल संस्करण

रानीखेत नामक रोग फैलिएपछि विनोद पोल्ट्री फार्मका १२ सय कुखुरा मरेका छन् । इलाम नगरपालिका ९ को उक्त फार्ममा आइतबार र सोमबार मात्रै १२ सय कुखुरा मरेको पोल्ट्री व्यवसायी संघका अध्यक्ष विनोद पोख्रेलले बताए । एकैपटक धेरै कुखुरा मर्दा साढे ४ लाखभन्दा बढी क्षति भएको उनको भनाइ छ  ।

उनका अनुसार आफूले पालेका २ सय ५० लोकल कुखुरा र १ सय कडकनाथ  कुखुरा मर्दा ३ लाख ८० हजारभन्दा बढी क्षति भएको छ । एक सातादेखि इलाम नगरपालिका क्षेत्रमा किसानले पालेका कुखुरा मर्न थालेको इलाम नगरपालिकाका पशु प्राविधिक प्रकाश लुइँटेलले बताए । ‘झोक्राउने, हरियो–सेतो छेर्ने, चारो नखाने लक्षण देखिएपछि कुखुरा मर्न थालेका छन्,’ लुइँटेलले भने, ‘कुखुरा बिरामी पर्न थालेको दुई–तीन दिनमा फार्म रित्तिन थालेको छ ।’

कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र इलामले त्यसको नमुना संकलन गरेर विराटनगरको ल्याबमा पठाएको थियो । परीक्षण गर्दा कुखुरामा रानीखेतको भाइरस देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र इलामका डा. सञ्जय ढुंगानाले बताए ।

‘कतिपय किसानले रानीखेतको भ्याक्सिन नै लगाउँदैनन्, कसैले भ्याक्सिन लगाउने, कसैले भ्याक्सिन नलगाउने भएपछि कुखुरामा रोग देखिएको हुन सक्छ,’ डा. ढुंगानाले भने, ‘भ्याक्सिन लगाउँदासम्म कोल्डचेन मेन्टेन भएन भने त्यसको प्रभावकारिता नहुन सक्छ ।’ कुखुरा फार्महरूमा जथाभावी आवतजावत गर्ने, कुखुराका चल्ला तथा दानाहरूको ओसारपसार गर्दा सुरक्षा सावधानी नअपनाउँदा एकैपटक भाइरसको संक्रमण फैलिएको हुन सक्ने डा. सञ्जय ढुंगाना बताउँछन् । 

See More On

सुझावित समाचार