मार्सल आर्टस् हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप वैशाखको पहिलो साता काठमाडौंमा हुने भएको छ । नेपाल मार्सल आर्टस् हाप्किडो एसोसिएसनले बुधबार प्रतियोगिताबारे जानकारी दिएको हो ।
ठमेलस्थित होटल आर्टस्मा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले आगामी ४–६ वैशाखमा हुने प्रतिस्पर्धामा सातै प्रदेशबाट खेलाडी सहभागी हुने बुधबार जानकारी दिए ।
प्रतिस्पर्धामा फाइटतर्फ महिला र पुरुष दुवैमा १०–१० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रतिस्पर्धामा २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७० र ७०–७५ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै, सेल्फ डिफेन्स, डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुनेछन् ।
‘कोरोना महामारीले खेलकुद गतिविधि हुन पाएन । अहिले भाइरस प्रभाव केही कम भएको महसुस भएको छ । त्यसैले हामीले फेरि खेलाडीहरूलाई चलायमान बनाउने उद्देश्यले प्रतियोगिताको तयारी गरेका छौं,’ पत्रकार सम्मेलनमा अध्यक्ष घर्ती मगरले भने, ‘अब खेलाडीहरूका लागि विस्तारै प्रतियोगिता बढाउदै जानेछौँ ।’
संघले यसअघि आफ्नो पहिलो राष्ट्रीय च्याम्पियनसिपको रूपमा रोल्पामा सहिद स्मृति हाप्किडो च्याम्पियनसिपको आयोजना गरेको थियो । यस्तै, कोरोना महामारीका कारण दोस्रो र तेस्रो राष्ट्रिय च्याम्पियनसिप भने भर्चुअल गरेको थियो । संघले प्रतिस्पर्धाका विजेता खेलाडीहरूलाई आर्थिकसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जनाएको छ ।
आयोजकले प्रतियोगितामा सहभागी हुन आउने सबै खेलाडीको यातायातदेखि बस्ने र खाने व्यवस्था संघले नै गर्ने जनाएको छ । खेलाडीको सहभागितासमेत निःशुल्क गरिएको प्रतियोगिता आयोजनाका लागि अनुमानित ६० लाख खर्च लाग्ने संघका अध्यक्ष घर्ती मगरले जनाएका छन् ।