५६ दिनपछि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबुल

ओली पक्षका सांसद अनुपस्थित, २० फागुनसम्म पुनः बैठक स्थगित

सोमबार, १० फागुन, २०७७
डिजिटल संस्करण

१२ पुसमा अविश्वास प्रस्ताव दर्ता भए पनि झन्डै दुई महिनाको कसरतपछि आइतबार टेबुल त भएको छ, तर ११ दिनका लागि बैठक स्थगित गरेर सत्ता समीकरणको खेल लम्ब्याइएको छ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएको एक महिना २६ दिनपछि प्रदेश सभा बैठकमा टेबुल भएको छ । तर, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस हुँदा ओली समूहका सांसद र मन्त्री भने अनुपस्थित रहे । 
आइतबार सभामुख प्रदीपकुमार भण्डारीले प्रस्ताव टेबुल गराएका हुन् । सभामुख भण्डारीको अनुमतिमा प्रस्ताव सांसद इन्द्रबहादुर आङ्बोले पेस गरेका थिए । ओली समूहका सांसद अनुपस्थित भएपछि प्रस्ताव दर्ता गराउन नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहज भएको थियो । १२ पुसमा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्ताव ७ र २५ माघको बैठकमा तीन–तीन मिनेट बसे पनि टेबुल हुन पाएको थिएन । 

आङ्बोले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव कारण खुलाएर संसद्मा पेस गरेका थिए । प्रस्ताव टेबुल भएपछि सभामुख भण्डारीले २० फागुनसम्म प्रदेश सभा बैठक स्थगित गराएका थिए । आइतबार दिउँसो २ बजे प्रदेश सभा बैठक बस्ने र अविश्वास प्रस्ताव पेस हुने कार्यसूची थियो ।

तर, ओली पक्षका सांसद उपस्थित नभएपछि कार्य–व्यवस्था समिति बैठक बस्न सकेन । र, संसद् बैठक पनि समयमै सुरु भएन । तर, अन्तिम समयमा ओली समूहले बैठक स्थगित गर्न दबाब दिए पनि सभामुख भण्डारीले अस्वीकार गरेका थिए । त्यसपछि उनले ३ः५८ मिनेटमा बैठक सुरु गरेका थिए । 

आइतबार बिहान मुख्यमन्त्री राईले बैठक अनिश्चितकालका लागि स्थगित गराउन सभामुख भण्डारीलाई आग्रह गरेका थिए । तर, सभामुख भण्डारीले बैठक बसाल्ने अडान लिएपछि ओली समूहका सांसदको बैठक बसेको थियो । त्यसपछि ओली समूहका सांसदले बैठक अनिश्चितकालका लागि स्थगित गर्न सभामुखलाई ज्ञापन बुझाएका थिए । 

उनीहरूले संसदीय दलको निर्णय भन्दै आफूहरूले निलम्बन गरेका प्रचण्ड–नेपाल समूहका १६ जना सांसद संसद्मा उपस्थित हुन नहुने, नेकपा पार्टी विभाजन नभइसकेकाले अदालत र आयोगको फैसलालाई पर्खनुपर्ने, संसद्मा आफूहरू र प्रचण्ड–नेपाल समूह बस्ने अलग–अलग व्यवस्था हुनुपर्ने माग राखेका थिए । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कम संसदीय दलको नेताको निर्णयअनुसार केही कानुनी अड्चन खडा भएकाले आफूहरूले सभामुखलाई संसद् बैठक स्थगित गराउन आग्रह गरेको बताए ।

मुख्य प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेर बन्धक बनाउन नहुने भन्दै संसद् बैठक राखेर अविश्वासको प्रस्ताव टेबुल गर्न आग्रह गरेका थिए । त्यसपछि तोकिएको समयभन्दा दुई घन्टासम्म पनि ओली पक्षका सांसद उपस्थित नभएपछि सभामुखले बैठक सुरु गरेका छन् ।

प्रस्ताव टेबुल भएकोमा कांग्रेसले स्वागत गरेको छ । प्रमुख सचेतक केदार कार्कीले ढिलै भए पनि सरकारको अहंकारले हार खाएको र व्यवस्थापिकाको जित भएको बताए । उनले भने, ‘मलाई आज सरकारप्रति दया र व्यवस्थापिकाप्रति गर्व लागेर आएको छ । यो सदन हो र यसको अलग्गै अस्तित्व हुने भएकाले सरकारको मनमौजी चल्न सक्दैन ।’ 

प्रचण्ड–नेपाल समूहबाट मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएका सांसद भीम आचार्यले अविश्वासको प्रस्ताव अब चाँडै टुंगो लाग्ने बताए । उनले आफूहरूले सहजै रूपमा बहुमतले अविश्वासको प्रस्ताव पारित गर्ने दाबी गरे । उनले भने, ‘अविश्वासको प्रस्ताव सरकारको नभएकाले उसको उपस्थिति हुनु–नहुनुले कुनै अर्थ राख्दैन, अब प्रस्ताव छलफलमा अगाडि बढ्छ ।’

सुझावित समाचार