परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै नेपालमा भाजपा सरकार गठन गर्ने विवादास्पद अभिव्यक्ति दिएको विषयमा भारतलाई विरोध जनाइएको बताएका छन् ।
भारतीय सञ्चारमाध्यममा यसबारे समाचार प्रकाशित भएपछि दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले सोमबारै भारतीय विदेश मन्त्रालयको ध्यनाकर्षण गराएका थिए । मंगलबार ट्विटरमा परराष्ट्रमन्त्री ज्ञवालीले यसबारे भारतलाई औपचारिक विरोध जनाइएको सार्वजनिक गरेका छन् ।
भारतका लागि नेपाली राजदूत आचार्यले भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने उत्तरी डिभिजनका सहसचिव अरिन्दम बाग्चीलाई सोमबार ध्यानाकर्षणसहित जवाफ मागेका थिए । कूटनीतिक स्रोतका अनुसार भारत सरकारका बहालवाला गृहमन्त्रीले दिएको अभिव्यक्तिलाई नेपालले गम्भीर रूपमा लिएको भन्दै स्पष्ट पार्न राजदूत आचार्यले आग्रह गरेका छन् ।
यसबारे आचार्यले परराष्ट्रमन्त्री ज्ञवालीलाई पनि जानकारी गराइसकेका छन् । ‘भारतीय विदेश मन्त्रालयका अधिकारीले गृहमन्त्रीबाट त्यस्तो अभिव्यक्ति नआएको र भारत सरकारले त्यस्तो सोच्न पनि सक्दैन भन्ने प्रतिक्रिया दिएका छन्, सार्वजनिक रूपमा पनि भारतीय विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया दिने सम्भावना छ,’ कूटनीतिक स्रोतले भन्यो । दिल्लीस्थित श्रीलंकाली दूतावासले पनि यसबारे भारतीय विदेश मन्त्रालयमा चासो राखेको छ ।