निर्वाचन आचारसंहिताबारे दलहरूसँग आयोगको छलफल (भिडियोसहित)

आइतबार, २ फागुन, २०७७
डिजिटल संस्करण

निर्वाचन आयोगले आचारसंहित २०७७ का सम्बन्धमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको छ । आइतबार आयोग परिसरमा आयोजित छलफलमा विभिन्न १४ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । राजनीतिक दलका अधिकांश प्रतिनिधिले निर्वाचन आयोगले आचारसंहिता जारी गरे पनि आचारसंहिता पालना भए–नभएको अनुगमन चुस्त हुन नसकेको तथा आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही गर्ने नगरेको भन्दै ध्यानाकर्षण गराएका थिए । उनीहरूले आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउन र उल्लंघन गर्नेमाथि विद्यमान व्यवस्थाअनुसार कारबाही गर्न माग गरेका छन् ।

नेकपा प्रचण्ड–माधव समूहले भने निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारलाई कारबाही नगरेको आरोप लगाएको छ । उसले आयोगको कार्यशैलीप्रति आशंका व्यक्त गरेको छ । छलफलमा सहभागी प्रचण्ड–माधव समूहका नेता लीलामणि पोखरेलले आफैँले निर्वाचन घोषणा गरेर आफैँ आचारसंहिताको उल्लंघन गर्ने सरकारप्रति आयोग मौन बसेकाले उसको भूमिकाप्रति शंका उब्जिएको प्रतिक्रिया दिए । उनले मुलुकको कार्यकारी प्रमुखले स्वतन्त्र र संवैधानिक निकायमा आएर ‘यो गर, त्यो नगर’ भन्नु गलत भएको भन्दै प्रधानमन्त्रीलाई आयोगले बोलाएको कि आफैँ आएको ? भनी प्रश्न गरे । 

उनले भने, ‘प्रधानमन्त्री आयोगले निम्ता गरेर आउनुभयो कि आफैँ आउनुभयो । कार्यकारी प्रमुखले आएर स्वतन्त्र संवैधानिक निकाय आयोगका पदाधिकारीलाई यस्तो गर, उस्तो गर भनेर निर्देशन दिन मिल्दैन ।  एकदमै गलत हो । मिल्दै मिल्दैन । कानुनविपरीत हुन्छ । नैतिकताविपरीत हुन्छ । आचरणविपरीत हुन्छ । सरकारले निर्वाचन घोषणा गरिसकेपछि आचारसंहिता लाग्छ कि लाग्दैन ? निर्वाचन आयोगले घोषणा गरेर मात्रै आचारसंहिता लाग्ने होइन  । सरकारले निर्वाचन घोषणा गरिसकेपछि त्यो सरकार कामचलाउ हुन्छ । अनि पशुपतिमा गएर म ३० करोडको जलप लगाइदिन्छु भन्न पाइन्छ ? सुकुम्बासी आयोगका पदाधिकारीको नियुक्ति गर्न पाइन्छ ? मन्त्रिमण्डल पुनर्गठन गर्न पाइन्छ ? दीर्घकालीन रूपमा प्रभाव पर्ने कुनै सन्धि–सम्झौता गर्न पाइन्छ ? पाइँदैन । यी सबै कुरा सरकारले गरिरहेको छ । आफैँले निर्वाचन घोषणा गर्ने अनि आफैँले आचासंहिता उल्लंघन गर्ने गर्न पाइँदैन । हामीले त अभिमत जाहेर गरेका छौँ सडकमा । पैसा खर्च गरेर, देशको ढुकुटी खर्च गरेर हामीले प्रभावित पारेका छैनौँ ।यो कुरा हामीले निर्वाचन आयोगलाई जानकारी गरायौँ ।’

उनले निरन्तर रूपमा सरकारले आचारसंहिता उल्लंघन गरिरहँदा आयोगले सरकारमाथि आचारसंहिताको पालनाका लागि सचेत नगराएकाले आफूहरूमा शंका उब्जिएको उनको भनाइ छ । 

कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले आचारसंहितामाथिको छलफलको क्रममा विभिन्न सरकारी कार्यालय तथा आयोगमा नियुक्ति, बढुवा, सरुवालगायत काम नियमित प्रक्रियाको बहानामा गर्न नहुने भन्दै आयोगको ध्यानाकर्षण गराएको बताए । उनले सरकारले मिति तोकिसकेकाले निर्वाचनका लागि आयोगको तयारीलाई रोक्न नमिल्ने प्रतिक्रिया दिए । 
राप्रपा नेता सुशील श्रेष्ठले आचारसंहिताको पूर्ण परिपालन गर्न आयोगको ध्यानाकर्षण गराएको बताए ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले तयार पारेको आचारसंहितामाथि छलफल गरिएको र केही दलले लिखित सुझाब पनि दिएको बताए । उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने गरि आयोगले तयारी अघि बढाएको स्पष्ट पारे । 

सुझावित समाचार