लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–माधव नेतृत्वको नेकपाले कम्युनिस्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताएका छन् । नेकपा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले जनयुद्धको थलोका रूपमा रहेको रोल्पा र रुकुममा विजयको झन्डा फहराएर प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टीले कम्युनिस्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने दाबी गरे ।
ओली समूहले बुटवलमा आयोजना गरेको आमसभामा उनले भने ‘रोल्पा, रुकुमलाई जनयुद्धको थलोका रूपमा कमरेड प्रचण्डले जे चाह्यो त्यही हुने थलोका रूपमा चित्रण गर्ने गरिन्छ । तर, आउँदो चुनाव रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झन्डा फहराउँदै छ भन्ने कुराको उद्घोष गर्न चाहन्छु । र त्यसका माध्यमबाट हामी प्रचण्ड र माधव कमरेडले नेतृत्व गरेको पार्टीले कम्युनिस्ट आन्दोलनको हित गर्न सक्दैन भन्नेकुरा हामी रोल्पा र रुकुमका माध्यमबाट प्रमाणित गर्ने योजनाका साथ अगाडि बढेको कुरा म तपाईंहरूसमक्ष राख्न चाहन्छु ।’
पोखरेलले प्रचण्ड–माधव समूह चुनावबाट भागेको आरोपसमेत लगाए । प्रचण्डले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजे पनि भुइँमा पछारिएको उनको भनाइ छ । प्रचण्डले एमालेको विभाजनबाट लाभ लिन खोजे पनि जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेको पोखरेलको जिकिर छ ।