बाँध मर्मत गर्न फेवातालको पानी हटाइयो, मौका छोपेर अतिक्रमण

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

दुई साताअघि पोखरा आउँदा फेवाताल घुम्न पुगेकी भक्तपुरकी मीरा खड्का घरायसी कामका कारण आइतबार पुनः पोखरा आइपुगिन् । उनी सोमबार बिहान फेवातालस्थित वाराही मन्दिर दर्शनका लागि पुग्दा तालमा पानीको सतह घटेको देखेर अचम्मित भइन् । तुरुन्तै उनले नजिकै रहेका डुंगाचालकसँग यसको कारण सोधिन् ।

फोटो तथा भिडियोमा फेवाताल देखेकी चितवनकी शर्मिला पौडेल सोमबार फेवाताल पुग्दा फोटोमा देखेजस्तो रूप पाइनन् । उनले फोटोमा देखेको ताल र प्रत्यक्ष देखेको तालमा आकाश जमिनको फरक पाएपछि छक्क परिन् । हिजोआज पोखरा आउने अधिकांश पर्यटक पोखराको प्रमुख पर्यटकीयस्थल फेवातालको स्वरूप देखेपछि अचम्ममा पर्ने गरेका छन् । कारण हो, बाँध मर्मतका लागि पानीको सतह घटाएपछि देखिएको दृश्य । 

तालको बाँध जीर्ण अवस्थामा पुगेपछि त्यसको मर्मतका लागि भन्दै जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीले पानीको सतह एक मिटर घटाएको हो । पानीको सतह घटेपछि तलको किनार कहीँ चार मिटरदेखि कतै ५० मिटर परसम्म पुगेको छ । ताल किनारका अधिकांश भाग समुद्रका बिचजस्ता देखिएका छन् । ताल किनारमा लेदो माटोसँगै रहेका डुंगाहरू हिलो माटोमा गाडिएको अवस्थामा रहेका थिए । 

४० वर्षपछि पहिलोपटक बाँध मर्मत
ताल संरक्षणका लागि भन्दै ०१८ मा पहिलोपटक बाँध बाँधिएको थियो । सो बाँध ०२८ मा भत्कियो । ०३५ मा पुरानो स्थानभन्दा केही तल चार ढोकासहितको नयाँ बाँध निर्माणको काम सुरु गरियो । निर्माणको काम भने तीन वर्षपछि सम्पन्न भएको थियो । निर्माण गरिएको बाँधको समय–समयमा मर्मत गर्नुपर्ने भए पनि सामान्य मर्मत गरिँदै आएको थियो । जसकारण बाँधको ढोकामा पानी रोक्न प्रयोग भएका रवरसिल खिइँदै गएपछि पानी लिक भइरहेको थियो । बाँध बनेको करिब ४० वर्षपछि पहिलोपटक ‘लार्ज स्केल’मा मर्मत गर्न लागिएको हो । ढोकाको रवरसिलसँगै गेटको मर्मत, गेटको स्टेप लकको दाँती मर्मत, बाँधबाट बगेको पानी खस्ने स्थान डाउनस्टिम साइटमा यसअघि जाली राखिएकोमा त्यसलाई हटाएर ढलान गर्ने र आवश्यकताअनुसार रंगरोगन गर्नेलगायतका काम गरिने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आर्चायले जानकारी दिए । मर्मतका लागि एक करोड बजेट विनियोजन भएको छ ।

बाँधसँगै तल्लो भाग अर्थात् फेवातालबाट सिँचाइका लागि पानी लगिएको कुलोको मर्मतका लागि पानीको सतह घटाइएको आर्चायले जानकारी दिए । मर्मतको सबै काम पानीभित्र गर्नुपर्ने भएकाले तालको सतह घटाउनुपरेको उनको भनाइ छ । तालको पानी यसअघि समुद्र सतहबाट ७९३ मिटरमा रहेकोमा हाल पानी घटाउँदा ७९२ मिटर रहेको आचार्य बताउँछन् । आफूहरूलाई कामका लागि दुई मिटर घटाउनुपर्ने भए पनि एक मिटर पानी घटाइपछि तालको चारैतिर आफूहरूले अवलोकन गरेको र स्थानीयले समेत धेरै घटाउन नहुने भनेपछि एक मिटर घटाएर काम सुरु गरेको उनको भनाइ छ । मर्मतपछि बाँधको आयु बढ्ने आचार्यले बताए । बाँधको गेट रवरसिल मर्मतपछि तालमा पानीको सतह पुनः पहिलेको अवस्थामा आउने र मर्मतका लागि करिब एक महिना लाग्ने बताइएको छ । मर्मत सकिएपछि फिर्के र सेती नदीको पानी डाइभर्ट गरेर तालमा ल्याइनेछ । 

फेवातालको उपल्लो भेगमा जलारी समुदायको बाक्लो बस्ती छ । उनीहरूले प्रायः तालमा माछापालन गर्ने र तालमा रहेको माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । मर्मतका लागि भन्दै एक्कासि पानी सुकाएको भन्दै जलारीहरू असन्तुष्ट बनेका छन् । आफूहरूलाई खबर नगरी पानी सुकाउँदा धेरै माछा मरेको र केही माछा बगेर गएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

ताल अतिक्रमण निरन्तर
फेवाताल फैलावट बढाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा ढिलाइ हुँदा यसअघि पनि विभिन्न व्यक्तिहरूले तालको मापदण्ड मिचेर संरचना निर्माण गर्दै आएका छन् । गत २७ मंसिरमा खगराज आचार्यको जग्गामा व्यवसायी दीपेश श्रेष्ठले रातारात पक्की पर्खाल लगाएका थिए । पछि महानगरले डोजर प्रयोग गरेर भत्काएको थियो । बसुन्धरा पार्क निजी क्षेत्रलाई दिने निर्णय हुँदा त्यसविरुद्ध मुद्दा दायर गर्दै निजी क्षेत्रलाई दिनबाट रोक्न सघाएकी अधिवक्ता भगवती पहारीले अहिले ताल अतिक्रमण गर्न खोज्नेहरू सल्बलाएको बताइन् । योवेला विगतमा भन्दा धेरै खबरदारी र निगरानी गर्नुपर्ने उनको भनाइ छ । 

रातारात बाटो खन्ने दुईजना प्रहरीको नियन्त्रणमा 
जीर्ण बनेको फेवातालको बाँध मर्मतका लागि पानी घटाएका वेला विगतमा ताल मापदण्ड मिच्ने र अवैध संरचना निर्माण गर्नेहरूले आफ्नो सक्रियता बढाएको पाइएको छ । फेवातालको सिरानतर्फ रातमाटेमा यही मौका छोपेर भइरहेको सडक संरचनालाई समेत बिगार्दै ताल किनारतर्फ बाटो लैजान डोजर प्रयोग गर्ने दुईजनालाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएकोे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पोखरा महानगरपालिका–१८ सेदीका हरिबहादुर थापा र राजेश थापाले स्वीकृतिविना दुईवटा जेसिबी प्रयोग गरी बाटो खनेका हुन् । थापाद्वय, जेसिबीसहित चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

रातारात सडक खनेको जानकारी पाएपछि आफू फिल्डमै पुगेर रोकेको र बिहानै प्रहरीको जिम्मा लगाएको पोखरा महानगरपालिका–१८ का अध्यक्ष रणबहादुर थापाले जानकारी दिए । लेकसाइडबाट पामे, हुँदै घाटीछिनाबाट अगाडि बढ्ने पक्कीबाटोको डिलबाटै कटान गरी बाटो खनेको पाइएको उनले बताए । विगतमा तालको सीमांकन गरिएको पिलर पुर्ने र तालको जग्गा हडप्ने नियतका साथ बाटो खनिएको वडाध्यक्ष थापा दाबी गर्छन् । 

पोखरा महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदारका अनुसार सडकको डेढ मिटर आधार नै काटेर ताल किनारमाथि बाटो खनिएको छ । २१ मिटर लामो खनेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्की सडक संरक्षण गर्न रिटेनिङवाल लगाउनुपर्ने देखिएकाले उनीहरूलाई नै त्यसको लागत बेहोर्नुपर्ने गरी क्षतिपूर्ति भराइने गोदारले बताए । ‘पक्की सडकको ‘राइट आफ वे’ नै भत्काइएको छ । अब बाटो संरक्षण गर्न रिटेनिङवाल लगाउनुको विकल्प छैन । उनीहरूलाई नै महानगरले त्यो वाल लगाउन लगाउँछ । तर, कति लागत लाग्ने भन्ने पूरै स्टिमेट तयार भइसकेको छैन,’ उनले भने ।

सीमांकनको काम टुंग्यायौँ : पुण्य पौडेल संयोजक, फेवाताल सीमांकन  तथा नक्सांकन समिति

फेवा बाँध मर्मतका लागि तालको पानी अचानक घटाउँदा फेवातालको सीमांकन तथा नक्सांकन प्रभावित हुने वा प्रभावित पार्ने चिन्ता पोखरावासीले गरेका छन् । अहिले बाँध खोल्दा पानीको भागबाहेकको जग्गा आफ्नो रहेको भन्नेहरू पनि देखिएका छन् ।

तर, फेवाताल सीमांकन तथा नक्सांकन समिति संयोजक पुण्य पौडेलले यसले कुनै असर नगर्ने बताए । उनले फेवातालको सीमांकनको कार्य सकिसकेकोसमेत दाबी गरे । ‘हाम्रो सीमांकनको कार्य सकिइसकेको छ,’ उनले भने, ‘यसमा थप अध्ययन गरेर प्रतिवेदन पेस गर्दै छौँ ।’

फागुनको पहिलो हप्ताको सुरुवातमै प्रतिवेदन बुझाउने तयारी रहेको उनको भनाइ छ । उनका अनुसार सीमांकनको अध्ययन गरेर नक्सा बनाउने तयारीमा समिति छ । अहिले नै तालको क्षेत्रफल कति भन्ने विषयमा भने बताउन नमिल्ने उनले बताए । 

See More On

सुझावित समाचार