न्यायसेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवरको नाम सिफारिस गरेको छ । आइतबार बसेको आयोगको बैठकले उनलाई सिफारिस गरेको हो । यसैगरी बैठकले प्रशासकीय अदालतमा रजिस्ट्रारका रूपमा कार्यरत निर्मला पौडेलको बढुवाको निर्णयसमेत गरेको छ ।
पूर्वमुख्य रजिस्ट्रार नृपध्वज निरौला उच्च अदालत दिपायलको मुख्य न्यायाधीश बनेपछि रिक्त रहेको मुख्य रजिस्ट्रार पदका लागि न्यायसेवाका सचिवहरू कुँवरका साथै नारायणप्रसाद पन्थी र वेदराज पौडेल आकांक्षी थिए । वरिष्ठताका आधारमा कुँवरलाई कायममुकायम दिइएको थियो भने आइतबार उनलाई सिफारिस नै गरिएको छ ।
आइतबारको बैठकबाट उनी सिफारिस भएपछि मन्त्रिपरिषद्ले उनको नियुक्तिको निर्णय गर्नेछ । यसैगरी सर्वोच्चको रजिस्ट्रारमा पहिलोपटक महिलालाई सिफारिस गरिएको हो । निर्मला पौडेल राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा भएकी छिन् ।
न्यायसेवा आयोगका अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा छन् भने सदस्यहरूमा कानुनमन्त्री लीलानाथ श्रेष्ठ, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की सदस्य छन् । संविधानको धारा १५४ अनुसार लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता पनि यसको सदस्य रहन्छन् ।